काठमाडौं । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजारक्षेत्रको दुई किलोमिटर सडक कालोपत्र गर्न दोस्रो पटक म्याद थपिएको छ ।
२ किलोमिटर १ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम २०८२ भदौ १५ गते सम्पन्न गर्नुपर्ने थियो । तर, ठेकेदारको ढिलासुस्तीले काम नसकिँदा छोटो दुरीको सडक कालोपत्र गर्न दोस्रो पटक म्याद थपिएको हो । ६ करोड ७२ लाख ६५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेर एच.सि.बि.जि.सी.एस. कम्पनीले काम सुरु गरेको थियो ।



निर्धारित समयमा काम नसकिएपछि २०८३ असार मसान्तसम्म म्याद थपिएको थियो । थपिएको समयमा पनि काम सम्पन्न भएपछि २०८३ असोज मसान्तसम्म म्याद थपिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
निर्माण कम्पनी एच.सि.बि.जि.सी.एस.ले भने बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको आकाशिंदो मृल्यवृद्विले कामै गर्न नसक्ने अवस्था आएको बताएको छ । ठेक्का सम्झौता गर्दा पेट्रोलियम पदार्थको मुल्य १ सय २६ रुपैयाँ थियो भने कालोपत्र गर्ने समयमा बढेर २ सय २६ रुपैयाँसम्म पुग्दा काम गर्न नसकिएको कम्पनीको तर्क छ ।
सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिको काम रोकिएको थियो । लोकमार्ग विस्तार गर्दा घरघडेरी क्षति हुँदा उठिबास हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले संघर्ष समिति नै बनाएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार र कालोपत्रको काम हुन सकेको थिएन । सर्वाेच्चले बाङेचौरदेखि उपल्लाचौरको बुर्तिवाङ चोकसम्म १५ मिटर बाटो कायम गरिदिएपछि स्तरोन्नतिको काम अघि बढेको हो ।



