काठमाडौं । अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ, आत्मीय र सहकार्यमुखी बनाउने उद्देश्यले ब्राइट फ्युचर सेकेण्डरी स्कुलले पहिलोपटक आयोजना गरेको ‘ब्राइट फ्युचर प्यारेन्ट्स फुटसल फेस्ट–२०२६’ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।




पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा कप्तान हरि खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । खेलकुदले अनुशासन, सहकार्य र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले विश्वकपको माहोलसँगै आयोजना गरिएको अभिभावक फुटसल प्रतियोगिताले फुटबलप्रतिको आकर्षण अभिवृद्धि गर्नुका साथै लुकेका प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो ।
उहाँले व्यवसायिक खेलाडी बन्ने अवसर सबैलाई नजुटे पनि स्वास्थ्य, तन्दुरुस्ती र मानसिक स्फूर्तिका लागि नियमित रूपमा खेलकुदमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
विद्यालयका अध्यक्ष मोहनकुमार कार्कीले विद्यालय र अभिभावकबीचको सहयोग, विश्वास, आपसी समझदारी, सद्भाव र भ्रातृत्वको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

प्रतियोगितामा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूको सहभागिता रहेको थियो । कुल ३२ जना अभिभावकलाई ओरियन्टेसन कार्यक्रममार्फत अटोमेटिक प्रणालीबाट चार टोलीमा विभाजन गरी लिग तथा फाइनल चरणमा प्रतिस्पर्धा गराइएको थियो ।
रोमाञ्चक फाइनलमा सगरमाथा टोलीले कञ्चनजंघा टोलीलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो । कञ्चनजंघा टोली प्रथम उपविजेतामा सीमित रह्यो । प्रतियोगितामा अभिभावक कपिल सापकोटा उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
प्रतियोगिताको निर्णायकको भूमिका हिरा महर्जन र किशोर महर्जनले निर्वाह गर्नुभएको थियो । विजेता तथा सहभागी खेलाडीहरूलाई प्रमुख अतिथि हरि खड्काले मेडल, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।
विद्यालयले आगामी दिनमा पनि अभिभावकको सक्रिय सहभागिता रहने यस्ता सिर्जनात्मक तथा खेलकुदमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।



