काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । प्रभावित क्षेत्रमा पहिरो हटाउने काम तीव्र रूपमा भइरहे पनि सडक पूर्णरूपमा संचालनमा आउन सकेको छैन ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० अन्तर्गत जवाङ खोलानजिक दुई स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–३ फिसलिङ क्षेत्रमा पनि पहिरो झरेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढ–मुग्लिन–पोखरा सडकखण्डमा भने सवारी आवागमन नियमित रहेको जनाएको छ । तर मुग्लिन–काठमाडौं खण्डमा पहिरोले यातायात संचालन हुन नसकेको र सडक खुलाउन डोजरसहितको टोली परिचालन गरिएको छ । सडक बन्द भएपछि सवारीसाधनलाई कुरिनटार क्षेत्रमा रोकिएको छ ।

उता, जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले धादिङतर्फ खसेको पहिरो हटाउन अझै केही समय लाग्ने भएकोले नागढुंगा र सिम्ले क्षेत्रमा सवारीसाधनलाई रोकिएको बताउनु भयो ।

अविरल वर्षाका कारण रातिको यात्रा जोखिमपूर्ण हुने भएकाले धादिङ प्रहरीले अघिल्लो राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी संचालनमा अस्थायी रोक लगाएको थियो । तर त्यसपछि पहिरो खसेकाले सडक पूर्णरूपमा संचालनमा ल्याउन नसकिएको जनाइएको छ ।

यता, बीपी राजमार्गमा भने यातायात सेवा पुनः संचालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रोशी गाउँपालिका–३ थली क्षेत्रमा सडकमा थुप्रिएको लेदो र माटो हटाएपछि उक्त सडकखण्डमा सवारी आवागमन पुनः सुचारु भएको छ ।

प्रहरीले वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले अत्यावश्यकबाहेकको यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायका सूचनालाई पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय