काठमाडौं– नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय नगरी केही दिन थप आन्तरिक छलफल गर्ने निष्कर्ष निकालेको छ। सोमबार बिहान काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट अलग हुने विषयमा तत्काल निर्णय नगरी एक–दुई दिन थप प्रतीक्षा गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बागमती प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले सरकारबाट बाहिरिने वा नबाहिरिने विषयमा अझै कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारे।
उनले भने, “राजीनामा दिने वा नदिने विषयमा अझै टुंगो लागेको छैन। हामी पुनः छलफल गरेर मात्र निर्णयमा पुग्छौं। केन्द्रबाट पनि हालसम्म कुनै स्पष्ट निर्देशन नआएकाले केही दिन थप छलफलमै रहनेछौं।” श्रेष्ठका अनुसार एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन अझै कायम रहेको छ। गठबन्धनलाई नयाँ ढंगले अघि बढाउने विषयमा पार्टीको शीर्ष तहमा छलफल भइरहे पनि हालसम्म कुनै औपचारिक निर्णय नभएको उनले बताए।



हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा तथा वन तथा वातावरण मन्त्री भरतबहादुर केसी सहभागी छन्। यसअघि एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका थिए। तर पार्टी केन्द्रबाट थप निर्देशनको प्रतीक्षा गर्न भनिएपछि उक्त प्रक्रिया रोकिएको थियो। अब केन्द्रीय नेतृत्वको आगामी निर्णय र गठबन्धनबारे हुने थप छलफलले बागमती प्रदेश सरकारको भविष्य कस्तो रहने भन्ने विषयमा स्पष्टता आउने अपेक्षा गरिएको छ।



