बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा पर्दा १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् । सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी १ नम्बर वडा बाढी र पहिरोबाट प्रभावित छ । यस वडामा मात्रै ९२० घर पहिरोका जोखिममा छन् । हुल्दी, लेबाङ किटेनी, स्वारा लगायतका गाउँमा सिंगो बस्तीनै पहिरोको जोखिममा परेका छन् । वि.सं. २०७४ सालयता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नम्बर २ मा २०७, वडा नम्बर ३ मा १४०, वडा नम्बर ४ मा ४००, वडा नम्बर ५ मा १७०, वडा नम्बर ६ मा ३१ र वडा नम्बर ७ मा ५७० घर पहिरोको जोखिममा छ ।
पहिरोले गाउँनै चिराचिरा परेपछि बर्खाको समय जोखिम मोलेर बस्नु परेको निसीखोला गाउँपालिका–१ हुल्दीकी हुमकुमारी मल्लले बताउनुभयो । गाउँको बीचमा एउटा ठूलो पहिरो रहेको भन्दै उक्त पहिरो दशकौँ अगाडिदेखि निरन्तर बग्ने गरेको उहाँको भनाइ छ । आठ वर्ष अगाडिसम्म उक्त पहिरोले गाउँमा ठूलो क्षति नपु¥याएको भन्दै ०७५ सालदेखि त्यसको असले गर्दा गाउँको विभिन्न स्थानमा जमिन भासिने र चिरिने गरेको मल्लले बताउनुभयो ।



निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जोखिममा रहेको बस्ती स्थान्तरणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरि रहेको बताउनुभयो । जनता आवास कार्यक्रम अन्तरगत केही नागरिकलाई सुरक्षाति स्थानमा सारेर घर निर्माण गरेको उहाँको भनाइ छ । अप्ठ्यारो भूगोलका कारण हरेक वर्ष बाढी पहिरोबाट यहाँका नागरिकले दुःख पाउनु परेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले योजना बनाइ रहेको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।



