काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण लगभग ३ लाख मानिस घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् । अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाले आगो तीव्र गतिमा फैलिँदा नियन्त्रणमा लिन चुनौती थपिएको छ ।

फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको आगो बोरदो शहरतर्फ अघि बढेपछि आसपासका सात नगरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारिएको छ । डढेलो बोरदोबाट करिब ४० देखि ५० किलोमिटर दूरीसम्म फैलिएको छ ।

गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब दुई लाख मानिस विस्थापित भएका छन् । डढेलो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गरेको छ । साथै आगो फैलिन नदिन झाडी सफा गर्ने, अवरोध निर्माण गर्ने तथा हवाई माध्यमबाट पानी खसाल्ने अभियान तीव्र बनाइएको छ ।

युरोपेली संघका सदस्य राष्ट्रहरूले पनि फ्रान्सलाई सहयोग गरेका छन् । क्रोएसियाले तीनवटा क्यानाडेयर विमान, पोर्चुगलले दुईवटा एयर ट्र्याक्टर विमान, चेक गणतन्त्र र स्लोभाकियाले ब्ल्याक हक हेलिकोप्टर तथा रोमानियाले वन डढेलो नियन्त्रण टोली पठाएका छन् । युरोपेली आयोगले ईयूको संयुक्त अग्नि नियन्त्रण बेडाबाट फ्रान्स र स्पेनमा ११ वटा विमान तथा हेलिकोप्टर परिचालन गरिएको छ ।

डढेलोले आइतबार हुने टुर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरणको दूरी १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटरमा सीमित गरिएको छ, ताकि सुरक्षा निकायलाई डढेलो प्रभावित क्षेत्रमा परिचालन गर्न सकियोस् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशभर फैलिएका करिब ३० वटा डढेलोबारे आपतकालीन बैठक बोलाएका छन् । सरकारले यस अवस्थालाई अभूतपूर्व संकटको रूपमा व्याख्या गरेको छ ।

यता स्पेनमा पनि डढेलोका कारण आपत्काल घोषणा गरिएको छ । म्याड्रिड र अभिला क्षेत्रमा करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी मानिस अझै घरभित्रै बस्न बाध्य छन् । केही क्षेत्रमा मौसममा सुधार आएपछि आगोको तीव्रता केही घटे पनि जोखिम अझै कायम रहेको अधिकारीहरूको भनाइ छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कठिन अवस्था अझै समाप्त नभएको भन्दै मौसममा आएको सुधारलाई डढेलो नियन्त्रणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

यस वर्ष हालसम्म स्पेनमा एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ, जुन पछिल्लो दशकको वार्षिक औसतभन्दा धेरै हो । फ्रान्समा पनि सन् २०२६ को सुरुदेखि हालसम्म ९८ हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले नष्ट गरिसकेको छ ।

यसैबीच इटालीको सिसिली टापुमा ३५० भन्दा बढी स्थानमा डढेलो लागेको छ, जसमा १० वटा ठूला आगलागी समावेश छन् । स्कटल्यान्डको केर्नगम्र्स राष्ट्रिय निकुञ्जमा पनि १० दिनदेखि डढेलो जारी रहेपछि आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

युरोपेली संघकी संकट व्यवस्थापन आयुक्त हाजा लाहबिबले यस वर्ष युरोपमा डढेलोबाट हुने क्षति विगतका सबै रेकर्डभन्दा बढी हुन सक्ने चेतावनी दिएकी छन् । उनका अनुसार गत वर्ष युरोपमा करिब १० लाख हेक्टर वन क्षेत्र डढेलोले नष्ट गरेको थियो भने यस वर्ष गर्मी याम चाँडै सुरु भएकाले अझ ठूलो क्षतिको जोखिम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय