काठमाडौं । सुनसरीमा दुई समूहबीच भएको झडपपछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासनले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार आसपासका तोकिएका क्षेत्रमा कर्फ्यू लागू गरेको हो ।



हरिनगर बजार क्षेत्रमा पूर्वतर्फ नुनियतोल, पश्चिमतर्फ पश्चिम खुनिया धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ वसन्तपुर मोडसम्मको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।
यस्तै, भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको क्षेत्रलाई कर्फ्यू क्षेत्र घोषणा गरिएको छ ।
कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कर्फ्यू लागू गरिएको छ ।
घुस्की बजारमा पूर्वतर्फ कासमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर र दक्षिणतर्फ हिलाल पब्लिक स्कुलसम्मको क्षेत्र कर्फ्यूको दायरामा राखिएको छ ।
त्यसैगरी देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्रमा पनि कर्फ्यू लागू गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले परिस्थितिलाई नियन्त्रणमा राख्न, सम्भावित अप्रिय घटना रोक्न तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्म कर्फ्यू आदेश कायमै रहने बताउनु भयो ।



