जापानको दक्षिणपश्चिमी क्युसु (Kyushu) टापुमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण भवन, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने एउटा शपिङ सेन्टर आंशिक रूपमा भत्किँदा कैयौँ मानिस फसेको आशंका गरिएको छ। उद्धार टोलीले फसेकाहरूको खोजी तथा उद्धार कार्य तीव्र बनाएको छ।
जापानकी प्रधानमन्त्री सनाए तकाइचीले भूकम्पमा धेरै मानिस घाइते भएको बताउँदै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको जानकारी दिएकी छन्। भूकम्पपछि केही स्थानमा आगलागी भएको, हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको तथा रेल र केही हवाई सेवा स्थगित गरिएको छ।



भूकम्पपछि लगातार परकम्पहरू महसुस भइरहेका छन्। प्रारम्भमा जारी गरिएको सुनामी चेतावनी भने पछि फिर्ता लिइएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ भने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।



