सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिले घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग सोधपुछ गरेको छ।

आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घटनापछि स्थानीय क्षेत्रमा विरोध प्रदर्शन चर्किएपछि गृह मन्त्रालयले सोमबार छानबिन समिति गठन गरेको थियो।

समितिले सोमबार नै विराटनगर पुगेर गोली लागेर घाइते भएकाहरूलाई भेटी घटनाबारे जानकारी तथा बयान लिएको थियो। त्यसपछि बुधबार बिहान टोली कप्तानगञ्ज पुगेर घटनास्थलको अवस्थाबारे अध्ययन गरेको हो।

घटनास्थल निरीक्षणका क्रममा समितिका सदस्यहरूले गोली चलेको स्थान, विवाद भएको क्षेत्र तथा अन्य महत्वपूर्ण पक्षको अवलोकन गरेका छन्। साथै स्थानीय प्रत्यक्षदर्शी र सरोकारवालासँग घटनाको क्रम, प्रहरीको भूमिका तथा विवादको कारणबारे जानकारी लिइएको जनाइएको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन, प्रहरीको कारबाही कानुनअनुसार भएरनभएको अध्ययन गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव दिन समितिलाई जिम्मेवारी दिइएको छ। समितिले आफ्नो अध्ययन पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय