नेपाल–चीनबीचको प्रमुख व्यापारिक मार्ग तातोपानी नाका जोड्ने बाह्रबिसे–कोदारी–लिपिङ सडकखण्ड इको पहिरोका कारण १३ दिनदेखि अवरुद्ध बनेको छ। साउन १ गते कोदारीस्थित इको क्षेत्रमा सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको छैन। लगातार पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको छ। सडक अवरुद्ध भएपछि चीनको खासा, ल्हासा र सिगात्सेबाट तातोपानी भन्सार हुँदै नेपाल आउने मालवाहक कन्टेनर रोकिएका छन्। ४० भन्दा बढी कन्टेनर मितेरी पुलपारि रोकिएका छन्, जसमा फलफूल, विद्युतीय सामग्री र लत्ताकपडा रहेका छन्। लामो समयसम्म कन्टेनर रोकिँदा फलफूल कुहिने तथा व्यवसायीलाई ठूलो आर्थिक क्षति हुने जोखिम बढेको छ।

बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्डका एक दर्जनभन्दा बढी स्थानमा पहिरो र सडक भासिने समस्या देखिएको छ। यसका कारण यात्रुबाहक बस तथा अन्य सवारीसाधनसमेत सञ्चालन हुन सकेका छैनन्। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले पहिरोका कारण व्यापारिक गतिविधि पूर्ण रूपमा प्रभावित भएको बताउँदै तत्काल सडक सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँका अनुसार वर्षायाममा इको पहिरोका कारण विगत तीन वर्षदेखि तातोपानी नाका पटक–पटक अवरुद्ध हुँदै आएको छ।

तातोपानी नाकाबाट वार्षिक ठूलो मात्रामा राजस्व संकलन हुने भए पनि सडकको दीर्घकालीन सुधार हुन नसक्दा व्यापार र राजस्व दुवै प्रभावित हुँदै आएको व्यवसायीहरूको भनाइ छ।
साउन ८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, कानुनमन्त्री सोविता गौतमलगायतको टोलीले पहिरो क्षेत्र र तातोपानी नाकाको स्थलगत अनुगमन गरेको थियो। टोलीले पहिरो हटाई सडक छिटो सञ्चालन गर्न निर्देशन दिने बताए पनि हालसम्म प्रभावकारी रूपमा काम अघि बढ्न नसकेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय