काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वार्षिक योजना किताब प्रकाशन यस वर्ष पनि समयमै नहुने संकेत देखिएको छ । कारण वडा कार्यालयहरूको ढिलासुस्ती । १५ वटा वडामध्ये हालसम्म ७ वटा वडाले मात्र आफ्नो वार्षिक योजना नगरपालिकामा बुझाएका छन् भने बाँकी ८ वटा वडाले योजना विवरण नबुझाउँदा नगरपालिकाको समग्र योजना व्यवस्थापन प्रक्रिया प्रभावित बनेको छ ।
वार्षिक योजना किताब कुनै औपचारिक प्रकाशन मात्र होइन । यही दस्तावेजका आधारमा नगरपालिकाले योजना कार्यान्वयन, बजेट खर्च, खाता सञ्चालन, योजना सम्झौता, बोलपत्र प्रक्रिया तथा अनुगमनका काम अघि बढाउँछ । योजना किताब नै ढिलो हुँदा विकास निर्माणका अधिकांश प्रक्रिया स्वतः पछाडि धकेलिन्छन् ।



सबैभन्दा गम्भीर प्रश्न भनेको यो समस्या नयाँ नभई वर्षेनी दोहोरिँदै आउनु हो । नगरपालिकामा यसअघि पनि वडा कार्यालयहरूले समयमै योजना नबुझाउँदा सयौं योजना प्रभावित भएका थिए । कतिपय योजना आर्थिक वर्षको अन्तिम महिनामा हतारहतार सम्झौता गरिएका थिए भने कतिपय योजना अधुरै छाड्नुपरेको थियो । विकास निर्माणको गुणस्तरमा प्रश्न उठ्नुका साथै बजेट खर्च अन्तिम समयमा केन्द्रित हुँदा पारदर्शिता र प्रभावकारितामाथि समेत प्रश्न उठेको थियो ।
यसपटक पनि उही अवस्था दोहोरिनु केवल प्रशासनिक कमजोरी मात्र होइन, स्थानीय सरकारको योजना व्यवस्थापन क्षमतामाथिको प्रश्न पनि हो । नगरसभा सम्पन्न भइसकेपछि वडाहरूले प्राथमिकताका योजना समयमै नगरपालिकामा बुझाउनु सामान्य जिम्मेवारी हो । तर, वर्षेनी एउटै कमजोरी दोहोरिनुले समयसीमा पालना गराउने प्रभावकारी संयन्त्र कमजोर रहेको संकेत गर्छ ।
स्थानीय तहको विकास प्रणालीमा वडाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिन्छ । नागरिकको आवश्यकता संकलनदेखि योजना छनोटसम्मको जिम्मेवारी वडा कार्यालयको हुन्छ । तर, योजना तयार पार्ने र बुझाउने काममै ढिलाइ हुँदा त्यसको प्रत्यक्ष असर नागरिकले पाउने सेवामा पर्छ । सडक, ढल, खानेपानी, विद्यालय, स्वास्थ्य, सार्वजनिक पूर्वाधारलगायतका विकास आयोजनाको कार्यान्वयन नै पछाडि सर्ने जोखिम बढ्छ ।
योजना किताब ढिलो हुनुको असर केवल कागजी प्रक्रियामा सीमित रहँदैन । खाता सञ्चालन ढिलो हुन्छ, योजना सम्झौता पछाडि सर्छ, निर्माण कार्य वर्षको अन्त्य वा आर्थिक वर्षको अन्तिमतिर मात्रै सुरु हुन्छ । त्यसपछि असारे विकासको प्रवृत्ति दोहोरिन्छ, जहाँ कामभन्दा बजेट सक्ने हतार बढी देखिन्छ । परिणामस्वरूप गुणस्तरीय विकासभन्दा बजेट खर्चको प्रतिशतलाई प्राथमिकता दिने प्रवृत्तिले स्थान पाउने जोखिम रहन्छ ।
चन्द्रागिरि नगरपालिकाले अहिले सामना गरिरहेको चुनौती योजना किताब ढिलो हुनु मात्र होइन, स्थानीय शासनमा जवाफदेहिता र कार्यसम्पादन संस्कृतिको अभाव पनि हो । त्यसैले अब प्रश्न केवल ‘योजना किताब कहिले प्रकाशित हुन्छ ?’ भन्ने होइन, “वर्षेनी एउटै कमजोरी दोहोरिने प्रणालीलाई सुधार्ने जिम्मेवारी कसले लिन्छ?“ भन्ने बनेको छ ।



