सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक झडपपछि तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको तनाव कम गर्न स्थानीय प्रशासनले प्रयास तीव्र पारेको छ। केही स्थानमा कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ भने संवेदनशील क्षेत्रहरूमा कर्फ्यू अझै कायम राखिएको छ।

सिरहाको लहान नगर क्षेत्रमा कर्फ्यू हटाइएको छ। तर गोलबजारमा भने कर्फ्यू यथावत् राखिएको छ। सुनसरीमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यसको विरोधमा गोलबजारमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि थप हिंसा भड्किन नदिन प्रशासनले कर्फ्यू जारी गरेको हो। मृतकका परिवार र सरकारबीच सहमति भए पनि शव घर नपुग्दासम्म कर्फ्यू नहटाइने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन्।

धनुषामा सर्वसाधारणलाई राहत दिन बिहान ५ देखि १० बजेसम्म कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएको थियो। सो अवधिमा दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्री खरिद–बिक्री गर्न अनुमति दिइएको थियो। जनकपुरधाममा भने आज बिहान १० बजेदेखि कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलका अनुसार सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञामार्फत शान्ति–सुरक्षा कायम राख्ने व्यवस्था गरिएको हो।

यस्तै सप्तरीमा पनि अत्यावश्यक सामग्री खरिदका लागि बिहान ७ देखि ९ बजेसम्म कर्फ्यू खुकुलो बनाइएको थियो। प्रशासनले तोकिएको समयपछि कर्फ्यूको पूर्ण पालना गर्न आग्रह गर्दै पाँच जनाभन्दा बढी व्यक्ति भेला भई हुलदङ्गा वा अशान्ति फैलाउने गतिविधि गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। सप्तरीको बोदेबरसाइनमा साउन १४ गते रातिदेखि र राजविराजमा साउन १५ गतेदेखि कर्फ्यू लागू छ।

सुनसरी घटनापछि जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भएका थिए। प्रदर्शन नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। अहिले अधिकांश स्थानमा अवस्था क्रमशः सामान्य बन्दै गए पनि केही संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय