नेपालको विरोधका बाबजुद भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै सीमा व्यापार पुनः सञ्चालन गरेका छन्। करिब छ वर्षपछि भारत–चीनबीच लिपुलेक नाकाबाट औपचारिक रूपमा व्यापार सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पहिलो चरणअन्तर्गत शनिबार भारतीय व्यापारीहरूको टोली चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ताक्लाकोट मण्डीतर्फ प्रस्थान गरेको छ। दुवै देशका अध्यागमन र भन्सारसम्बन्धी प्रक्रिया पूरा भएपछि सन् २०२६ को सीमा व्यापार सिजन सुरु भएको बताइएको छ।



उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेक दर्रा हुँदै इन्डो–तिब्बती व्यापार संघका अध्यक्ष जीवन सिंह रौक्लीको नेतृत्वमा १६ जना दर्ता भएका व्यापारी र चार सहयोगीसहित २० सदस्यीय टोली तिब्बत प्रवेश गरेको जनाइएको छ।

धार्चुलाका उपविभागीय मजिस्ट्रेट आशिष जोशीका अनुसार टोलीले गुन्जीस्थित अध्यागमन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेपछि नाबिधाङमा रात बिताएको थियो। त्यसपछि चिनियाँ अधिकारीको अनुमति पाएसँगै टोली लिपुलेक दर्रा हुँदै ताक्लाकोटतर्फ गएको हो। बाँकी दर्ता भएका व्यापारीलाई पनि अनुमति प्राप्त भएपछि चरणबद्ध रूपमा पठाइने बताइएको छ।
लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ। नेपालका अनुसार लिम्पियाधुराबाट पूर्वतर्फ पर्ने लिपुलेक पास नेपाली भूमि भएकाले त्यहाँ हुने कुनै पनि गतिविधिमा नेपालको सहमति आवश्यक हुन्छ।
यसअघि चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा नेपालसँग परामर्श नगरी लिपुलेक नाका पुनः सञ्चालन गर्ने सहमति भएको भन्दै नेपाल सरकारले औपचारिक आपत्ति जनाएको थियो। पछिल्लो व्यापार सञ्चालनले पुनः कूटनीतिक चासो बढाएको छ।



