कोशी प्रदेशमा हालसम्म ९३ दशमलव ६९ प्रतिशत धान खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कोशी प्रदेशमा यो वर्ष धान रोपाइँको अवस्था गएको वर्ष भन्दा उत्साहजनक रहेको तथ्यांकले देखाएको छ । केही केही ठाउँ बाहेक धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षेत्रमा पर्याप्त पानी परेका कारण रोपाइँको दरमा वृद्धि भएको हो ।

निर्देशनालयका प्रमुख प्रकाश कुमार डाँगीका अनुसार गत वर्ष साउन १८ गतेसम्म ८९ दशमलव ३ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्षको प्रगति गत वर्षको सोही अवधिको तुलनामा झन्डै ४ प्रतिशतले बढी हो । प्रदेशको कुल २ लाख ७६ हजार ३ सय ८६ दशमलव ७२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म २ लाख ५८ हजार ९ सय ५० दशमलव १९ हेक्टरमा रोपाइँ सकिएको छ ।

क्षेत्रगत रुपमा हेर्दा तराईका जिल्लाहरुमा सबैभन्दा बढी रोपाइँ भएको पाइएको छ । धान खेतीका लागि सबैभन्दा महत्वपूर्ण मानिने तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा ९५ दशमलव ४८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तराईको कुल १ लाख ९३ हजार २ सय ८५ दशमलव १८ हेक्टर जमिनमध्ये १ लाख ८४ हजार छ सय ५५ दशमलव ६२ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी मध्य पहाडका ८ जिल्लाहरुमा ९० दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्य पहाडको कुल ६७ हजार ७ सय १७ दशमलव ५८ हेक्टर जमिनमध्ये ६१ हजार ६८ दशमलव २५ हेक्टरमा रोपाइँ सकिएको छ । यस्तै, उच्च पहाडी तीन जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ८६ दशमलव ६२ प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ । उच्च पहाडको १५ हजार ३ सय ८३ दशमलव ९६ हेक्टर जमिनमध्ये १३ हजार ३ सय २६ दशमलव ३३ हेक्टरमा रोपाइँ सकिएको छ ।

कोशी प्रदेशमा जिल्ला गत रुपमा हेर्दा सबैभन्दा बढी ओखलढुंगामा ९६ दशमलव ८६ प्रतिशत रोपाइँ भएको छ भने सवैभन्दा कम धनकुटामा ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लागत रुपमा हेर्दा सुनसरीमा ९८ प्रतिशत, ओखलढुंगामा ९६ दशमलव ८४ प्रतिशत, मोरङमा ९५ प्रतिशत, खोटाङमा ९५ दशमलव २१ प्रतिशत, उदयपुरमा ९४ दशमलव ७५ प्रतिशत र झापामा ९४ दशमलव ३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसैगरी ताप्लेजुङमा ९१ प्रतिशत, इलाम ९० प्रतिशत, भोजपुरमा ८९ प्रतिशत, तेह्रथुममा ८८ प्रतिशत, पाँचथरमा ८४ प्रतिशत र संखुवासभामा ८२ प्रतिशत क्षेत्रमा धान रोपिएको छ ।

निर्देशनालयका प्रमुख डाँगीका अनुसार समयमै वर्षा हुनु र सिँचाइको उपलब्धताले गर्दा यस वर्ष रोपाइँमा सुधार देखिएको हो । यसले आगामी दिनमा प्राकृतिक प्रकोप र रोग किराको प्रकोप नभएमा गत वर्षको भन्दा उत्पादन नघट्ने बताइएको छ । नियमित वर्षा भइरहेकाले केही दिन रोपाइँ जारी रहने भएकोले रोपाइँको प्रतिशत राम्रो हुने देखिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय