सिरहा- साउन १४ गते गोलबजारमा भएको हिंसा, आगजनी, तोडफोड र लुटपाटबाट स्थानीय व्यवसायीले करोडौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको दाबी गरेका छन्। व्यापारिक क्षेत्रमा भएको घटनाले ठूला प्रतिष्ठानदेखि साना व्यवसायसम्म प्रभावित भएका छन्। प्रभावित व्यवसायीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्। गोलबजार–४ स्थित सिरहा सुपर मार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी हुँदा करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालक पक्षको दाबी छ। मल निर्माण, भित्र रहेका सामग्री तथा विद्युतीय उपकरण जलेर नष्ट भएको उनीहरूको भनाइ छ।

यस्तै, एके ब्रदर्समा तोडफोड र लुटपाटबाट १५ देखि २० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ भने नेहाल आइरन स्टोरमा भएको आगजनी र तोडफोडबाट २० देखि २५ करोड रुपैयाँसम्मको क्षति पुगेको दाबी गरिएको छ। हिंसाको असर होटल, मोटर पार्ट्स, वर्कसप र साना व्यवसायमा समेत परेको छ। नौसाद मोटर पार्ट्स एन्ड वर्कसपमा आगजनी हुँदा ग्राहकका मोटरसाइकलसहित करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालकले बताएका छन्। यस्तै, रोयल प्रिन्स होटल एन्ड पार्टी प्यालेस तथा अन्य व्यवसायिक प्रतिष्ठानमा समेत लाखौं रुपैयाँको क्षति पुगेको छ।

पुरानो चोक चोहर्वास्थित न्यु असलम वस्त्रालय र आलिया इन्टरप्राइजेजमा भएको आगजनीबाट करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालकको दाबी छ। अन्य घर तथा पसलमा भएको क्षतिको विवरण संकलन भइरहेको छ।

उद्योग वाणिज्य संघ गोलबजारले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेको छ। गोलबजार नगरपालिकाले पनि क्षतिको छुट्टै मूल्यांकन गरी प्रभावित व्यवसायीलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले घटनाको विस्तृत विवरण संकलन र अनुसन्धान भइरहेको जनाएको छ। व्यवसायीहरूले तत्काल राहतसँगै सुरक्षित व्यापारिक वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय