काठमाडौं । महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा खरिद–बिक्री गर्न चाहने फर्म, कम्पनी र संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको हो ।
विभागले सार्वजनिक सूचना जारी गर्दै राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार त्यस्ता कारोबार गर्न चाहने संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको अनलाइन प्रणालीमार्फत आवेदन दर्ता गर्नुपर्ने जनाएको छ । अनलाइन आवेदनपछि आवश्यक कागजातको एक–एक प्रति छापेर विभागमा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।



इजाजतपत्रका लागि कारोबारको परिमाणअनुसार दस्तुर निर्धारण गरिएको छ । पाँच करोड रुपैयाँसम्मको कारोबारका लागि पाँच लाख रुपैयाँ र पाँच करोड रुपैयाँभन्दा माथिको कारोबारका लागि १० लाख रुपैयाँ दस्तुर लाग्ने विभागले जनाएको छ ।
यसअघि अनलाइन आवेदन दिएपनि २०८३ असार मसान्तसम्म इजाजतपत्र प्राप्त नगरेका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः आवेदन प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारिएको छ ।
विभागले आवेदन स्वीकृतिको प्रक्रियामा सम्बन्धित कम्पनी वा संस्थाका संचालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयबाट आपराधिक गतिविधिमा संलग्न नरहेको प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ ।
इजाजतपत्र प्राप्त गर्ने प्रक्रिया वा आवश्यक कागजातबारे थप जानकारीका लागि विभागसँग सम्पर्क गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।



