काठमाडौं । नेपाल शिक्षक महासंघले आउँदो भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ ।
सरकारसँग पटक–पटक भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारको माग गर्दै आन्दोलन गर्ने निर्णय गरिएको महासंघले जनाएको छ । महासंघले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको छ ।



यस्तै, बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने माग पनि महासंघले राखेको छ ।
राहत, साबिक उच्च माध्यमिक विद्यालयका अस्थायी÷करार शिक्षक, बाल कक्षा, सिकाइ अनुदान, विशेष शिक्षा र प्राविधिक धारमा कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरूको पेसागत सुरक्षा र स्थायित्वका लागि महासंघको माग छ । स्थायी शिक्षकहरूको आवधिक बढुवा र बढुवा अनुपातमा वृद्धि गर्नुपर्ने तथा निवृत्तिभरण (पेन्सन) का लागि सबै खाले स्थायी शिक्षकको नपुग सेवा अवधि थप गर्नुपर्ने विषयलाई पनि आन्दोलनको एजेन्डा बनाइएको बताएको छ ।
संस्थागत (निजी) विद्यालयका शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र उचित सेवा सुविधाको प्रबन्ध, शिक्षक–कर्मचारीको ट्रेड युनियन अधिकारको सुरक्षा तथा शिक्षक पेसाको स्वाभिमान र सामाजिक सम्मान अभिवृद्धि गर्ने लगायतका विषय पनि मागमा समेटिएका छन् ।
आन्दोलनको मिति र विस्तृत कार्यक्रम भने पछि सार्वजनिक गरिने बताइएको छ ।



