ताप्लेजुङ – एक सय २८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीका अनुसार पाँच किलोमिटर लामो सुरुङ खन्ने काम बुधबारबाट प्रारम्भ गरिएको हो। आयोजना २०८५ साल असोज २५ गतेसम्म सम्पन्न गरी व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
२०५६ सालदेखि अध्ययन सुरु भएको आयोजनाको २०८१ साल जेठ १० गते शिलान्यास गरिएको थियो। करिब २४ अर्ब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वर्षायाममा ६१ करोड ९७ लाख र सुक्खायाममा ९ करोड १६ लाख किलोवाट घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। हाल तमोर नदीको पानी उपयोग गरी निर्माण कार्यलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ।






