काठमाडौं – पतञ्जली योग साधना केन्द्र काठमाडौं जिल्ला समितिको आयोजनामा चन्द्रागिरिमा १५ दिने सह–योग शिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। चन्द्रागिरि नगर योग समितिको समन्वय तथा चन्द्रागिरि नगरपालिका–१, दहचोक योग साधना केन्द्रको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले १५ दिनसम्म योगसम्बन्धी प्रशिक्षण लिएपछि दीक्षित भएका छन्। तालिमको उद्देश्य सहभागीलाई योगसम्बन्धी आवश्यक ज्ञान तथा अभ्यास प्रदान गरी सह–योग शिक्षकका रूपमा तयार गर्नु रहेको आयोजकले जनाएको छ।

तालिम सम्पन्न गरी दीक्षित भएका सम्पूर्ण प्रशिक्षार्थीलाई कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विभिन्न योग गुरु तथा योग साधना केन्द्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठको समेत उपस्थिति रहेको थियो। साथै, दहचोक क्षेत्रमा योग गर्नुपर्छ भन्ने भावना र चेतना विस्तार गर्न प्रेरणादायी भूमिका निर्वाह गर्ने समाजसेवी दीपेन्द्र बखती, अनुप गिरी र राजु गिरीप्रति आयोजक तथा सहभागीहरूले सम्मान र आभार व्यक्त गरेका थिए।

योगलाई स्वस्थ जीवनशैलीसँग जोड्दै समुदायस्तरमा यसको अभ्यास विस्तार गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्। दहचोकमा सञ्चालित योग साधना केन्द्रमार्फत स्थानीयस्तरमा योग अभ्यासलाई निरन्तरता दिने प्रयास भइरहेको जनाइएको छ।

१५ दिने प्रशिक्षणबाट दीक्षित भएका सह–योग शिक्षकहरूले आगामी दिनमा योगसम्बन्धी अभ्यास तथा गतिविधिलाई समुदायस्तरसम्म पुर्‍याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजकले योगमार्फत स्वस्थ जीवनशैली, शारीरिक तथा मानसिक सन्तुलन र सकारात्मक जीवनपद्धतिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय