दोलखाको यलुङ–री हिमालमा गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका पाँच जना विदेशी आरोहीको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार भेटिएका शव गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका आरोहीहरूको हो। हिमपहिरोमा परी फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो गरी पाँच जना विदेशी नागरिक बेपत्ता भएका थिए।

स्थानीयले यलुङ–री हिमाल क्षेत्रमा पाँचवटा शव देखिएको जानकारी दिएपछि शव संकलन तथा पहिचानका लागि ड्रिम डेस्टिनेसनले शुक्रबार हेलिकोप्टरमार्फत उद्धार टोली पठाएको थियो। तर खराब मौसमका कारण तत्काल घटनास्थलसम्म पुग्न नसकिएको प्रहरीले जनाएको छ। सोमबार मौसम केही अनुकूल भएपछि हेलिकोप्टर घटनास्थलसम्म पुगेको थियो। त्यस क्रममा तीनवटा शव गोंगर भन्ने स्थानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी खड्काले जानकारी दिनुभएको छ।

बाँकी दुईवटा शव ल्याउन पनि हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको बताइएको छ। शवहरू संकलन गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचान तथा सम्बन्धित निकायमार्फत परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ। गत वर्ष नेपाली तथा विदेशी गरी विभिन्न समूहमा १५ जना आरोहणका लागि समुद्री सतहबाट पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमालतर्फ गएका थिए।

आरोहणका क्रममा हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार गरिएको थियो। तर सात जना भने हिमपहिरोमा परी बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये दुई जनाको शव हिमपहिरो गएको समयमा नै भेटिएको थियो। त्यसपछि बाँकी पाँच जना आरोहीको खोजी तथा उद्धारका लागि विभिन्न प्रयास भए पनि प्रतिकूल मौसम तथा हिमाली क्षेत्रमा रहेको कठिन भौगोलिक अवस्थाका कारण शव भेट्टाउन सकिएको थिएन।

एक वर्षपछि स्थानीयले हिमाल क्षेत्रमा शव देखेको जानकारी दिएपछि पुनः खोजी तथा उद्धारको प्रयास गरिएको हो। अहिले पाँचै शव भेटिएपछि गत वर्षको हिमपहिरोमा बेपत्ता भएका सबै सात जना आरोहीको अवस्थाबारे टुंगो लागेको प्रहरीले जनाएको छ। हिमाली क्षेत्रमा मौसम छिटो परिवर्तन हुने तथा हिमपहिरोको जोखिम उच्च हुने भएकाले आरोहण तथा पदयात्राका क्रममा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय