काठमाडौं – काठमाडौं उपत्यकामा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले अब आफूले पर्खिरहेको स्थानमा बस कहिले आइपुग्छ भन्ने जानकारी मोबाइलबाटै लिन सक्ने भएका छन्। सार्वजनिक यातायातलाई थप सहज, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ। संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकका क्रममा परिषद्का अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गर्नुभएको हो।

एपमार्फत काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सार्वजनिक सवारीसाधनको रुट, हालको स्थान तथा यात्रुले पर्खिरहेको स्थानसम्म आइपुग्न लाग्ने अनुमानित समयबारे जानकारी लिन सकिनेछ। यसले यात्रुलाई बस कुर्नुपर्ने समयको पूर्वअनुमान गर्न तथा आफ्नो यात्राको योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ। हाल एपमा जीपीएस जडान गरिएका करिब १ हजार २ सय सार्वजनिक सवारीसाधनको विवरण उपलब्ध रहेको जनाइएको छ। जीपीएसमार्फत सवारीसाधनको अवस्थाबारे प्राप्त हुने विवरणलाई एपमा समेटिएकाले यात्रुले सार्वजनिक सवारीसाधन कुन स्थानमा छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।

सार्वजनिक यातायातसम्बन्धी सूचना प्रविधिको प्रयोगमार्फत यात्रुको दैनिक आवागमनलाई सहज बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो। सार्वजनिक सवारीसाधनको प्रतीक्षामा यात्रुले लामो समय बिताउनुपर्ने समस्या कम गर्न तथा उपलब्ध सवारीसाधनबारे समयमै जानकारी उपलब्ध गराउन एप उपयोगी हुने विश्वास गरिएको छ। परिषद्को बैठकमा परिषद्को पहिलो र दोस्रो बैठकबाट भएका निर्णय तथा प्राधिकरणले हालसम्म गरेका कामको समेत समीक्षा गरिएको थियो। सार्वजनिक यातायात क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै यात्रुलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको जनाइएको छ।

हाल करिब १ हजार २ सय सवारीसाधनको विवरण समेटिएको भए पनि आगामी दिनमा एपमा थप सार्वजनिक सवारीसाधन जोड्दै यसको दायरा विस्तार गर्ने प्राधिकरणको योजना छ। यससँगै काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको वास्तविक समयसम्बन्धी सूचना थप व्यवस्थित र विश्वसनीय रूपमा यात्रुसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।सार्वजनिक यातायातमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यात्रुले बसको रुट र अवस्थाबारे अनुमानका भरमा कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। एप प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित, पारदर्शी र यात्रुमैत्री बनाउन सहयोग पुग्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय