काठमाडौंको बाँसबारीमा निरन्तरको वर्षापछि साढे दुई तलाको घर भासिएको छ। बिहीबार राति घरको जमिनतर्फको भाग भासिएपछि भवनको संरचना जोखिमपूर्ण बनेको हो। धरातल कमजोर बन्दै गएपछि घर भासिन सक्ने अवस्था देखिएसँगै त्यहाँ बस्दै आएका व्यक्तिहरूले तीन दिनअघि नै घर खाली गरेका थिए। उक्त भवनमा यसअघि गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो।
घर भासिएपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले जोखिमयुक्त भागलाई त्रिपालले छोपेको छ। वर्षाका कारण जमिन कमजोर बनेपछि घर भासिएको प्रारम्भिक विवरण रहे पनि घटनाको प्राविधिक कारण तथा संरचनाको अवस्थाबारे थप अध्ययन आवश्यक देखिएको छ।



घर भासिएपछि आसपासका क्षेत्रमा समेत जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जमिन कटान तथा भासिने जोखिम बढिरहेका बेला बाँसबारीको यो घटनाले पुराना तथा जोखिमयुक्त संरचनाप्रति थप सतर्कता आवश्यक देखाएको छ।



