निर्माण कम्पनीको लापरबाहीका कारण बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न हुन सकेको छैन । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा निर्माणाधीन प्रशासकीय भवन सम्पन्न नहुँदै जीर्ण बन्ने जोखिम बढेको छ । निर्माण कम्पनी रविना–प्राकृतिक–जुगल जेभीको ढिलासुस्तीका कारण भवन निर्माण समयमै सम्पन्न हुन नसकेको हो ।
तेस्रोपटक थपिएको म्यादमा समेत काम सम्पन्न नभएपछि चौथोपटक म्याद थपिएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पछिल्लोपटक चार महिनाका लागि म्याद थप गरिएको हो ।उहाँका अनुसार अब भवन निर्माण सम्पन्न गर्ने म्याद २०८३ कात्तिक १५ गतेसम्म थपिएको छ ।समयमै भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या हुनुका साथै नगरपालिकाले कार्यालय सञ्चालनका लागि ठूलो रकम भाडामा खर्च गर्दै आएको छ । नगरपालिकाले वार्षिक करिब १९ लाख २० हजार रुपैयाँ घरभाडामा खर्च गर्दै आएको छ ।



२०७८ फागुन २० गते तत्कालीन नगरप्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सम्झौताअनुसार २०८१ पुस १६ गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम नसकिएपछि पहिलोपटक छ महिनाका लागि म्याद थप गरिएको थियो ।पहिलोपटक थपिएको म्याद २०८२ असार १६ गतेसम्म पनि भवन निर्माण सम्पन्न नभएपछि दोस्रोपटक पुनः छ महिनाका लागि म्याद थप गरिएको थियो। थपिएको म्याद २०८२ पुस १६ गतेसम्म पनि काम नसकिएपछि तेस्रो पटक छ महिनाका लागि म्याद थप गरिएको थियो ।
तेस्रोपटक म्याद थप गर्दासम्म निर्माण कम्पनीले जम्मा ७० प्रतिशत काम सम्पन्न गरेको थियो। तेस्रोपटक थपिएको म्याद पनि गत असारमा सकिएको नगरपालिकाले जनाएको छ ।
भवन निर्माणका लागि निर्माण कम्पनीले ८ करोड १७ लाख ६५ हजार ८२ रुपियाँ १८ पैसामा सम्झौता गरेको थियो। भवन जैमिनी नगरपालिका–१, कुश्मीसेरामा स्थानीयले निःशुल्क उपलब्ध गराएको करिब आठ रोपनी जग्गामा निर्माण भइरहेको छ ।



