हेटौंडा – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगको शनिबार निरीक्षण गर्नुभएको छ। मन्त्री यादवसहितको टोलीले हेटौंडा उपमहानगरपालिका–८ स्थित उद्योगको भौतिक पूर्वाधार, मेसिनको अवस्था तथा पुनः सञ्चालनका सम्भावनाबारे जानकारी लिएको हो। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योग सञ्चालनका लागि सरकारले आवश्यक लगानी गर्ने बताउनुभयो। उद्योगलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै उहाँले हेटौंडा कपडा उद्योगसँगै बन्द अवस्थामा रहेका अन्य उद्योगलाई समेत पुनः सञ्चालन गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो।
उद्योगमा रहेका ४८८ मेसिनमध्ये हाल १२ वटा मेसिन मात्र सञ्चालनमा रहेको जानकारी टोलीलाई गराइएको थियो। मन्त्री यादवले उद्योग सञ्चालनका चुनौती, उत्पादन बढाउने सम्भावना र रोजगारी सिर्जनाका विषयमा नेपाली सेना तथा अन्य सरोकारवालासँग छलफल गर्नुभएको थियो। साढे दुई दशकदेखि बन्द रहेको उद्योगमा सरकारले नेपाली सेनालाई मर्मतसम्भार तथा उत्पादनको जिम्मेवारी दिएपछि गत साउन २३ गते दुईवटा लुम सञ्चालन गरी परीक्षण उत्पादन गरिएको थियो।



चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको लगानीमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, प्रविधिको आधुनिकीकरणको अभाव, बजार व्यवस्थापनको कमजोरी, लोडसेडिङ तथा अत्यधिक जनशक्तिका कारण आर्थिक भार बढेपछि उद्योगको उत्पादन २०५६ सालदेखि बन्द भएको थियो। २०५७ सालदेखि उद्योग पूर्ण रूपमा बन्द रह्यो भने २०५९ सालमा तत्कालीन सरकारले औपचारिक रूपमा उद्योग बन्द गर्ने निर्णय गरेको थियो।
अब सरकारले आवश्यक लगानी र उपयुक्त सञ्चालन मोडालिटी तय गरी उद्योगलाई पुनः उत्पादनमा फर्काउने तयारी गरेको छ। उद्योग पुनः सञ्चालनमा आए रोजगारी सिर्जना, स्वदेशी उत्पादन वृद्धि र सरकारी स्वामित्वका बन्द उद्योगलाई पुनर्जीवन दिने प्रयासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।



