काठमाडौं – बाढी तथा विपद्का कारण विभिन्न क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ। स्थलमार्गबाट काठमाडौं आउन कठिनाइमा परेका यात्रुलाई सुरक्षित रूपमा राजधानी ल्याउने उद्देश्यले महानगरपालिकाले यो सेवा सुरु गरेको हो। महानगरपालिकाका अनुसार शुक्रबारदेखि एउटा सवारीसाधनमार्फत सुरु गरिएको उद्धार अभियानको पहिलो दिन १९ जना यात्रुलाई काठमाडौं ल्याइएको थियो। उद्धार गरिएका यात्रुमा २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष रहेका छन्।

सेवालाई थप प्रभावकारी बनाउन शनिबारदेखि दुईवटा सवारीसाधन परिचालन गरिएको छ। तीमध्ये एउटा रसुवाबाट काठमाडौं यात्रु ओसार्दै आएको ००६ ख ९३३९ नम्बरको सवारीसाधन हो। १९ सिट क्षमताको उक्त गाडीलाई अहिले बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि प्रयोग गरिएको महानगरपालिकाले जनाएको छ। त्यस्तै, महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले अर्को सवारीसाधन उपलब्ध गराएको छ। ०३० च ७३६४ नम्बरको उक्त गाडीमा १० जना यात्रु अट्ने क्षमता रहेको छ।

उद्धारका लागि सञ्चालन गरिएका सवारीसाधन सहजै पहिचान गर्न सकियोस् भनेर गाडीको अगाडि र पछाडि ब्यानर राखिएको छ। उद्धार कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन दुवै सवारीसाधनमा नगर प्रहरीसमेत परिचालन गरिएको महानगरपालिकाले जनाएको छ।

बाढी तथा अन्य विपद्का कारण बीच बाटोमै रोकिएका र काठमाडौं आउन नसकेका यात्रुलाई प्राथमिकताका आधारमा उद्धार गर्ने गरी सेवा सञ्चालन गरिएको हो। महानगरपालिकाले यात्रुको आवश्यकता र चाप हेरेर आगामी दिनमा सवारीसाधनको संख्या थप गर्ने तयारीसमेत गरेको छ। यसैबीच, उद्धार तथा विपद् व्यवस्थापनको काममा परिचालित जनशक्तिको मनोबल बढाउन काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सभा गृहमा पुगेर उनीहरूलाई प्रोत्साहित गरेका छन्।

विपद्का बेला उद्धार, राहत तथा आवागमन व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले महानगरपालिकाले उपलब्ध स्रोतसाधनलाई परिचालन गर्दै सेवा सञ्चालन गरेको जनाएको छ। निःशुल्क यातायात सेवाबाट बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुलाई सुरक्षित रूपमा काठमाडौं ल्याउन सहज हुने अपेक्षा गरिएको छ। महानगरपालिकाले आवश्यकताअनुसार उद्धारका लागि थप सवारीसाधन परिचालन गर्दै जाने जनाएको छ। अहिले सञ्चालनमा रहेका सवारीसाधनमा नगर प्रहरीको उपस्थितिसहित यात्रुको सुरक्षित उद्धार र काठमाडौंसम्मको यात्रालाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय