रसुवा — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता तथा फसेका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, आयोजनाका कर्मचारी तथा स्थानीयको समन्वयमा जमिन, हवाई र जलविद्युत् आयोजनाका टनेलमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। बिहीबार बिहान ११ बजेसम्मको विवरणअनुसार रसुवागढी हाइड्रोपावरको टनेलमा उद्धार टोली करिब १५० मिटरसम्म भित्र पुगेको छ। तर टनेलभित्र ठूला चट्टान भेटिएपछि थप अगाडि बढ्न कठिनाइ भएको छ। चट्टान हटाएर पुनः खोज तथा उद्धार कार्य अघि बढाउने तयारीसहित टोलीले काम जारी राखेको छ।

लाङटाङ हाइड्रोपावरको टनेलमा भने विदेशीसहित २५ जनाको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ। टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी सम्भावित स्थानमा फसेका व्यक्तिको खोजी गरिरहेको छ। चिलिमे हाइड्रोपावरमा पनि विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। यसैगरी अपर त्रिशूली–१, हाँकुमा नेपाली सेनाको टोलीले टनेलमा खोज तथा उद्धार गरिरहेको छ। बाढी तथा पहिरोका कारण प्रभावित भएका आयोजनाका संरचनामा पुग्न कठिनाइ रहे पनि उपलब्ध उपकरणको प्रयोग गर्दै खोजी कार्यलाई निरन्तरता दिइएको छ।

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलमा भने उद्धार टोलीले थप प्रगति गरेको छ। नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो तथा अन्य अवरोध हटाएको हो। त्यस क्रममा कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोग गरी टनेलको आउटलेट पत्ता लगाइएको छ। वर्षाका कारण टनेलमा रातभर जम्मा भएको करिब डेढ मिटर पानीसमेत पम्पको सहायताले बाहिर निकालिएको छ। पानी हटाएपछि टनेलभित्र थप खोजी तथा उद्धार गर्न सहज हुने अपेक्षा गरिएको छ।

त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि उद्धार टोलीले खोजी तथा पहुँच निर्माणको कामलाई अघि बढाएको छ। नेपाली सेनाका ६१ जना, तीन गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरेको छ। उक्त क्षेत्रमा पुग्न एक्साभेटरको प्रयोग गरी बाटो बनाउने काम भइरहेको छ।

बस्ती तथा जंगल क्षेत्रमा पनि खोजी
टनेलमा मात्र नभई बाढीबाट प्रभावित बस्ती, जंगल, डाँडाकाँडा तथा खोला आसपासका क्षेत्रमा पनि जमिनी खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। उद्धार टोलीले प्रभावित क्षेत्रका स्थानीयसँग प्रत्यक्ष भेटेर उनीहरूको अवस्था बुझ्ने, सुरक्षाको प्रत्याभूति दिने तथा थप उद्धार आवश्यक पर्ने स्थानको पहिचान गरिरहेको छ। त्रिशूली नदीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका व्यक्ति तथा जोखिममा रहेका नागरिकको अवस्थाबारे जानकारी संकलन गर्दै टोलीले सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ।

यसैबीच टिमुरे क्षेत्रमा फेला परेका शवलाई व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउने काम पनि सुरु गरिएको छ। त्यसका लागि नेपाली सेनाले ‘स्लिङ लोड’ अपरेसन सञ्चालन गरेको छ। दुर्गम तथा सडकमार्गबाट तत्काल पुग्न कठिन भएका स्थानबाट शवलाई सुरक्षित रूपमा अन्यत्र ल्याउन हवाई माध्यम प्रयोग गरिएको हो।

९ हजारभन्दा बढी सैनिक परिचालन
बाढी तथा पहिरोबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका विभिन्न क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।
सेनाका टोलीले प्रभावित क्षेत्रमा घाइते तथा बेपत्ता नागरिकको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काममा समन्वय गरिरहेका छन्।
बाढीपछि सडक तथा भौतिक संरचनामा क्षति पुगेका कारण कतिपय प्रभावित क्षेत्रमा पुग्न अझै कठिनाइ रहेको छ। त्यसैले उद्धार टोलीले आवश्यकताअनुसार जमिनी तथा हवाई दुवै माध्यमबाट खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।

उद्धार कार्यसँगै प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी राहत तथा उपचारको व्यवस्था गर्नेतर्फ पनि सम्बन्धित निकायले काम गरिरहेका छन्। बाढीबाट बढी प्रभावित क्षेत्रहरूमा सम्भावित जोखिमको मूल्याङ्कन गर्दै उद्धार टोली परिचालन गरिएको र खोजी कार्यलाई निरन्तरता दिइएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय