काठमाडौं – नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा शनिबार आयोजित ‘हिट किक बक्सिङ–५९’ अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सेली बक्सर माथन स्वीनार्डलाई पराजित गर्दै शानदार जित हात पारेका छन्। अन्तर्राष्ट्रिय रिङमा नेपाली झन्डा बोकेर निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका घिमिरेले यसपटक पनि आफ्नो आक्रामक खेलशैली र अनुभवलाई प्रमाणित गरे। जापानको करिया सहरमा भएको प्रतियोगितामा घिमिरे र स्वीनार्डबीचको भिडन्तलाई निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रूपमा हेरिएको थियो।
प्रतियोगिताअघि नै घिमिरे र स्वीनार्डबीचको भिडन्त तय भएको थियो। ‘हिमालयन चितुवा’ अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन ९इस्का० अन्तर्गतको वर्ल्ड मेन इभेन्टमा फ्रान्सेली प्रतिद्वन्द्वीविरुद्ध रिङमा उत्रिएका थिए। घिमिरेले पछिल्लो समय अन्तर्राष्ट्रिय किक बक्सिङमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्। जापानलाई कर्मथलो बनाएर प्रशिक्षण तथा प्रतिस्पर्धा गर्दै आएका उनले विभिन्न देशका अनुभवी खेलाडीहरूसँग रिङमा उत्रिँदै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्।



फ्रान्सेली खेलाडी स्वीनार्डविरुद्धको पछिल्लो जित पनि घिमिरेको अन्तर्राष्ट्रिय यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। बलिया विदेशी खेलाडीविरुद्ध लगातार प्रतिस्पर्धा गर्दै आएका घिमिरेका लागि यस्ता खेलले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप आत्मविश्वास दिलाउने अपेक्षा गरिएको छ।
नेपाली खेलाडीले अन्तर्राष्ट्रिय किक बक्सिङमा निरन्तर सफलता हासिल गर्नु नेपाली खेलकुदका लागि पनि सकारात्मक सन्देश हो। ‘हिमालयन चितुवा’को पछिल्लो जितले नेपालमा किक बक्सिङप्रतिको आकर्षण बढाउनुका साथै नयाँ पुस्ताका खेलाडीलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ। घिमिरेले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै थप सफलता हासिल गर्ने लक्ष्य राखेका छन्। स्वीनार्डमाथिको यो जितसँगै उनको अन्तर्राष्ट्रिय करिअरमा अर्को महत्वपूर्ण अध्याय थपिएको छ।



