धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित ट्रक बरामद गरेको छ। प्रहरीले साँगुरीगढी गाउँपालिका–७ फेदीस्थित कोशी लोकमार्गबाट १ हजार २४० दशमलव ६ किलोग्राम गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मूलघाटबाट खटिएको टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोकेको थियो। तर, चेकजाँचका क्रममा चालकले ट्रकबाट हामफालेर फरार भएको प्रहरीले जनाएको छ।
चालकको व्यवहार शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले थप जनशक्ति परिचालन गरी ट्रकको खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद रञ्जितकारले जानकारी दिनुभयो। गाँजा फेला परेपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीको थप टोलीको सहयोगमा ट्रकसहित गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाएको छ। कार्यालयमा तौल गर्दा गाँजाको कुल परिमाण १ हजार २४० दशमलव ६ किलोग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार फरार चालकको खोजी भइरहेको छ। पछिल्लो समय कोशी लोकमार्गअन्तर्गत धनकुटा खण्डबाट ठूलो परिमाणमा गाँजा ओसारपसार हुने सूचनाका आधारमा प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र बनाउँदै आएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



