उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा ट्रक र हायस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। बिहीबार बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना।७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको बा।४ ख ५६३५ नम्बरको हायस आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा हायसमा सवार तथा चालक र सहचालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि अप्रपोष्ट संगमचोक र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको थियो। घाइतेमध्ये १० जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको छ। घाइते हुनेहरूमा गोर्खा चन्द्रागिरी–१४ की ५६ वर्षीया इन्दिरा श्रेष्ठ, मोरङ सुन्दरहरैँचा–७ की २७ वर्षीया पवित्रा भट्टराई, काठमाडौं चन्द्रागिरी–१४ की ४८ वर्षीया रुकमाया श्रेष्ठ, ५३ वर्षीया पविना श्रेष्ठ, मोरङ कानेपोखरी–६ का २४ वर्षीय लबिन चौलागाईं, हायसका सहचालक ४० वर्षीय देवराज विक र चालक ४४ वर्षीय रामबहादुर विक रहेका छन्। त्यस्तै, बाँके नेपालगञ्ज–३ की २१ वर्षीया लक्ष्मी गिरी, उदयपुर त्रियुगा–३ की ४२ वर्षीया रस्मिला दाहाल, मोरङ सुन्दरहरैँचा–६ की ७९ वर्षीया जमुना राई, ४१ वर्षीय एदुचन्द्र राई, इलाम जोगमाई–१ का २५ वर्षीय सगुन गुरुङ, उदयपुर बेलका–६ का ३१ वर्षीय डम्बरबहादुर विक, सिन्धुली कमलामाई–१ की ४० वर्षीया सानु थापा, मोरङ कानेपोखरी–६ का २१ वर्षीय करुण विक, उदयपुर बेलका–६ का २० वर्षीय सुदिप राई र काठमाडौं बूढानीलकण्ठ–५ की ४३ वर्षीया शान्ति न्यारिका घाइते भएका छन्।

घाइतेमध्ये इन्दिरा श्रेष्ठ, रुकमाया श्रेष्ठ, पविना श्रेष्ठ, देवराज विक, रामबहादुर विक, जमुना राई, यदुचन्द्र राई, डम्बरबहादुर विक, सुदिप राई र शान्ति न्यारिकालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक चालक रत्नबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय