गुल्मी — कालीगण्डकी र रिडी खोलाको बहाव बढेसँगै गुल्मीमा नदी किनारका बस्तीमा जोखिम बढेको छ। जोखिम बढेपछि स्थानीयलाई सतर्क गराउँदै घरमा रहेका सामान सुरक्षित स्थानमा सार्न थालिएको छ। रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा खोलाको बहाव बढेपछि स्थानीयले घरमा रहेका सामान सुरक्षित स्थानमा सार्न थालेका हुन्। बाढीको जोखिम बढेपछि गएरातिदेखि नै स्थानीय युवाहरू घरघरमा पुगेर सामान सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन्।
रुरुक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष नवराज विकसहित स्थानीय युवाहरूले जोखिममा रहेका परिवारका घरायसी सामान सुरक्षित स्थानमा सार्न सहयोग गरेका थिए। स्थानीय प्रेम भण्डारीका अनुसार रातिदेखि नै स्थानीय युवाहरूको सक्रियतामा जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। खोलाको बहाव अझै बढ्न सक्ने भएकाले नदी तथा खोलाको किनारमा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।



यसैबीच, कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बुटवल हुँदै बुर्तिबाङ जाने सडकको गुल्मी खण्डसमेत पहिरोका कारण प्रभावित भएको छ। कालीगण्डकी गाउँपालिका–२ को राक्से र वडा नम्बर ४ को पातिखोलामा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको हो। त्यस्तै, चन्द्रकोट गाउँपालिका–७ को चिउरेनी भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण बागलुङतर्फबाट बगेर आउने बडीगाड खोलामा पानीको सतहसमेत बढेको छ। पानीको सतह सतर्कता तह पार गरेपछि नदी आसपासका बस्तीमा थप जोखिम बढेको प्रहरीले जनाएको छ। जिल्लामा लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय तहहरूले बिहीबारदेखि विद्यालयसमेत बन्द गरेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरेका छन्।



