प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले हिजो बिहान महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे नेपालको धारणा राख्नुभएको थियो।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँले हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको बताउनुभएको थियो।

प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राख्नुभएको थियो। हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई पनि अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने उहाँको भनाइ थियो। प्रधानमन्त्री शाहको सम्बोधनलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ प्रस्तुत गरेका छन्। महासभामा सहभागिता तथा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी प्रधानमन्त्री शाह आज स्वदेश फर्किन लाग्नुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय