न्युयोर्क — परराष्ट्र सचिव अमृतबहादुर रायले बढ्दो जलवायु संकट कुनै एक देश वा क्षेत्रको मात्र समस्या नभई सीमाना, पारिस्थितिक प्रणाली र पुस्ताभन्दा माथि पुगेको अस्तित्वगत चुनौती भएको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु उत्थानशील भविष्यका लागि आह्वान’ विषयक उच्चस्तरीय विशेष कार्यक्रममा समापन मन्तव्य दिँदै सचिव रायले जलवायु परिवर्तनका असर हिमाली क्षेत्रदेखि समुद्री तटसम्म जोडिएको बताउनुभएको हो।
कार्यक्रममा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, त्यसको तल्लो तटीय तथा समुद्री क्षेत्रमा पर्ने प्रभाव र जलवायु उत्थानशील विकासका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यबारे छलफल गरिएको थियो। नेपालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सन्दर्भमा आयोजना गरेको यो कार्यक्रममार्फत हिमाली क्षेत्रले भोगिरहेका जलवायुजन्य जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप स्पष्ट रूपमा उठाएको हो।






