गुल्मीमा सामुदायिक वनमा एकाएक सल्लाका रुख ढल्न थालेका छन् । चन्द्रकोट गाउँपालिका- ३ भुल्केस्थित बार्जिङ सामुदायिक वनमा रुख ढल्न थालेका हुन् ।सल्लाका रुख ढल्ने र ढुंगाहरु खस्ने भएपछि नजिकको बस्ती थप्लुङ भुल्केका स्थानीय ३० घरपरिवार स्वतस्फूर्त आफन्तकोमा आश्रय लिएका छन् । निरन्तरको बर्षाका कारण पहिरोले रुख ढल्ने र ठूलो ढुंगा खस्नुका साथै पहिरो बस्तीसम्म आउने जोखिमका कारण स्थानीयलाई सुरक्षित स्थानमा जान सुझाव दिइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले जोखिम बढेपछि रातको समयमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै नजिकको बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको बताए । बस्तीका स्थानीयहरु स्वतस्फूर्त आफन्त छिमेकीमा आश्रय लिएको उनले बताए । छुट्टै व्यवस्थापन गरिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । दिउँसोदेखि नै छिटफुट सल्लाका रुख ढल्नेगरेको देखिएपनि पछि बिस्तारै पहिरोको रुपमा ठूलो मात्रामा सल्लाका रुख ढलेका थिए । त्यसपछि जोखिम मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा राखिएको हो






