सिरहा — सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला खोलामा नुहाउने क्रममा एक व्यक्ति बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका–५, मकवानपुर निवासी ४७ वर्षीय गोविन्दराज दुलाल रहेका छन्। दुलाल कल्याणपुर–६ भोक्राहामा निर्माणाधीन पक्की पुलमा काम गरिरहेको इलाइट कन्स्ट्रक्सनको बोलेरो गाडी चालकका रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार शनिबार बिहान करिब ९ः५५ बजे कमला खोलामा नुहाउन गएका दुलाललाई अचानक खोलाको तीव्र बहावले बगाएको थियो। घटनाबारे बिहान करिब १०ः३० बजे अस्थायी प्रहरी पोस्ट चिक्नामा जानकारी पुगेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।घटनालगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक विकास पासवानको कमाण्डमा पाँच जना प्रहरी र अस्थायी प्रहरी पोस्ट चिक्नाबाट प्रहरी टोली खोजी तथा उद्धारमा परिचालन गरिएको थियो। आसपासका अन्य प्रहरी युनिटबाट समेत थप जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।



त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कल्याणपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजु सिंह भण्डारीको कमाण्डमा २४ जनाको विपद् व्यवस्थापन टोली खोजीमा खटिएको थियो। टोलीले कल्याणपुर नगरपालिका–५ स्थित निर्दना घाटासम्म खोजी गरे पनि शनिबार साँझ ५ः३० बजेसम्म दुलालको अवस्था पत्ता लाग्न सकेन।आइतबार बिहानदेखि पुनः खोजी अभियानलाई निरन्तरता दिइएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक पासवानको कमाण्डमा पाँच जना, अस्थायी प्रहरी पोस्ट चिक्नाबाट दुई जना र सशस्त्र प्रहरीका ४२ जना गरी ठूलो संख्यामा सुरक्षाकर्मी खोजीमा खटिएका छन्।
खोजी अभियानमा बेपत्ता दुलालका दाजु ज्ञानेन्द्रप्रसाद दुलाल र तेजप्रसाद दुलालसमेत सहभागी छन्। प्रहरी तथा विपद् व्यवस्थापन टोलीले कमला खोलाका विभिन्न सम्भावित क्षेत्रमा खोजी गरिरहेको जनाएको छ।खोलामा पानीको बहाव र भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ। बेपत्ता दुलालको अवस्था पत्ता लगाउन खोजी अभियान जारी रहेको छ।



