कपिलवस्तु –भालुवाङ–चन्द्रौटा सडकखण्डअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा बसमाथि ढुंगा खस्दा चार जना घाइते भएका छन्। मंगलबार बिहान करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७३० नम्बरको बसमाथि सडक माथिबाट ढुंगा खसेको हो। बसमा ३० जना यात्रु सवार थिए।
दुर्घटनामा बर्दियाको गेरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्वारिका प्रसाद थारु, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार, बर्दियाको गेरुवा गाउँपालिका–२ का ३५ वर्षीय सुरेशलाल थारु र कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल घाइते भएका छन्। ढुंगा खसेर बसमा क्षति पुगेको छ। घाइतेहरूको अवस्था तथा उनीहरूको उपचार भइरहेको स्थानबारे थप विवरण आउन बाँकी छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






