समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोकको कब्जामा लिइएको सम्पत्ति तथा व्यवसाय लिलाम बिक्री गर्ने भएको छ। समितिले सम्पत्ति लिलामका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो।बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सुमेरु सहकारीमा रहेको लगानीबाट प्राप्त सम्पत्ति बिक्री गरी सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले लिलाम प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।समितिले २०८३ असोज १७ गते सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्ति, फर्म, संगठित संस्था तथा कम्पनीलाई सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ।
सुमेरु सिटी अस्पतालसहित जग्गा लिलाममा
लिलाम बिक्रीमा ललितपुर महानगरपालिका–३ मा रहेको सुमेरु सिटी अस्पताल प्रालि। तथा राजमाया महर्जनका नाममा रहेका विभिन्न कित्ताका जग्गा समावेश गरिएको छ।त्यस्तै, ती जग्गामा निर्माण भएका भवन तथा अन्य संरचना समेत लिलाममा राखिएको छ। अस्पतालमा रहेका बायोमेडिकल इन्जिनियरबाट मूल्याङ्कन गरिएका विभिन्न पुँजीगत सामग्री तथा उपकरण पनि लिलाम बिक्री गरिने समितिले जनाएको छ।अस्पताल सञ्चालनसँग सम्बन्धित सम्पत्ति तथा संरचनासँगै शैक्षिक क्षेत्रतर्फका सम्पत्ति पनि लिलाम प्रक्रियामा समावेश गरिएको छ।



अस्पताल र कलेजको लाइसेन्ससमेत बिक्री गरिने
सूचनाअनुसार सुमेरु अस्पताल र शङ्खरापुर कलेजको सञ्चालन अनुमति पत्र ९लाइसेन्स० समेत लिलाम बिक्रीमा राखिएको छ। त्यसैगरी, शङ्खरापुर कलेजले सञ्चालन गर्दै आएका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा चल सम्पत्ति पनि लिलाम बिक्रीमा समावेश गरिएको छ। यसरी सहकारीको लगानी रहेका जग्गा, भवन, अस्पतालका उपकरण तथा शैक्षिक संस्थासँग सम्बन्धित सम्पत्तिसमेत एकैपटक लिलाम प्रक्रियामा ल्याइएको हो।
३५ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्नुपर्ने
समितिका अनुसार इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्र फारामका लागि रु। ३ हजार शुल्क तोकिएको छ। इच्छुक बोलपत्रदाताले उक्त रकम भुक्तानी गरी काठमाडौंको अनामनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट बोलपत्र फाराम खरिद गर्न सक्नेछन्।बोलपत्र पेस गर्दा आफूले कबोल गरेको रकमको १० प्रतिशत धरौटी रकम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, पुतलीसडकस्थित समितिको खातामा जम्मा गर्नुपर्नेछ। धरौटी रकम जम्मा गरेको बैंक भौचर बोलपत्रसँगै संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
३५औँ दिनको भोलिपल्ट बोलपत्र खोलिने
समितिले प्राप्त भएका सिलबन्दी बोलपत्रहरू ३५औँ दिनको भोलिपल्ट दिउँसो १ बजे खोल्ने जनाएको छ।लिलाम बिक्रीका लागि राखिएका सम्पत्ति तथा व्यवसाय ‘जे जस्तो अवस्थामा छ, सोही अवस्थामा’ खरिद गर्नुपर्ने शर्त राखिएको छ। अर्थात् बोलपत्र स्वीकृत भएपछि सम्पत्तिको अवस्था, संरचना वा उपकरणसम्बन्धी थप दाबी गर्न नपाइने व्यवस्था गरिएको छ।
सम्पूर्ण शुल्क खरिदकर्ताले व्यहोर्नुपर्ने
बोलपत्र स्वीकृत भएपछि सम्पत्तिको नामसारी, दर्ता, दाखिल खारेज, नवीकरण तथा लाभांश करलगायतका सम्पूर्ण शुल्क बोलपत्रदाता अर्थात् खरिदकर्ताले नै व्यहोर्नुपर्ने समितिले जनाएको छ। बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार भने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नै निहित रहने सूचनामा उल्लेख छ।
बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्य
समस्याग्रस्त घोषणा गरिएको सुमेरु सहकारीको सम्पत्ति बिक्री गरेर प्राप्त रकमबाट बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो। सहकारी संस्थाको लगानीमा रहेका ठूला सम्पत्ति तथा व्यवसाय लिलाममार्फत बिक्री गरी त्यसबाट प्राप्त रकमलाई बचतकर्ताको दायित्व व्यवस्थापनमा प्रयोग गर्ने समितिको उद्देश्य रहेको छ। लिलाम प्रक्रियामा अस्पताल, कलेज, जग्गा, भवन, उपकरण तथा अन्य चल–अचल सम्पत्ति समावेश भएकाले यसलाई समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापनतर्फको महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।



