नेपालमा विपद् प्रतिकार्य तथा उद्धार क्षमता विस्तार गर्ने उद्देश्यले अमेरिकाले नेपाली सेनाको हेलिकप्टर बेडा विस्तारमा सहयोग गरिरहेको छ। नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मिसन मेगन बोल्डिनले अमेरिकी कम्पनी बेल टेक्स्ट्रोनका प्रतिनिधिहरूसँग भेट गरी अमेरिकी सरकारको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टर बेडामा थप गरिने हेलिकप्टरसम्बन्धी प्रगतिको विषयमा छलफल गरेकी छन्।
अमेरिकाले नेपाल सरकारसँग सहकार्य गर्दै विपद् प्रतिकार्य, उद्धार तथा जीवनरक्षा अभियान सञ्चालन गर्ने क्षमता पहिचान र विस्तारमा काम गरिरहेको जनाएको छ। अमेरिकी पक्षका अनुसार अगस्ट २६ यता नेपाललाई मानवीय सहायता, स्वास्थ्य सेवा तथा अन्य विपद् प्रतिकार्यका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।






