काठमाडौं । प्रधानमन्त्रीले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना दिँदै आर्थिक अभावका कारण कसैका लागि पनि दसैँ बोझ बन्न नहुने बताएका छन्।दसैँको शुभकामना सन्देश जारी गर्दै उनले आर्थिक सम्पन्नताले नै चाडपर्वको रौनक बढाउने उल्लेख गरेका छन्। देशलाई सुशासनको मार्गमा अघि बढाउँदै नागरिकको जीवनस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। प्रधानमन्त्रीले बडादसैँ नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको पर्व भएको उल्लेख गर्दै यसले परिवार, आफन्त र विश्वभर छरिएर रहेका नेपालीलाई एकताको सूत्रमा बाँध्ने बताएका छन्। ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने तथा सानालाई माया र ठूलालाई सम्मान गर्ने परम्परा नेपाली संस्कृतिको महत्त्वपूर्ण पक्ष भएको उनले उल्लेख गरेका छन्।
यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताएका छन्। दसैँ सत्यको विजय र असत्यमाथिको पराजयको प्रतीक भएको उल्लेख गर्दै उनले समाजमा रहेका नकारात्मक प्रवृत्तिको अन्त्य गर्न र प्रत्येक व्यक्तिले आफूभित्रको अहङ्कार, लोभ, क्रोध तथा ईर्ष्यामाथि विजय प्राप्त गर्नुपर्ने बताएका छन्।



त्यस्तै, रोजगारी तथा बाध्यताका कारण विदेशिनुपरेका नेपालीको पीडाप्रति चिन्ता व्यक्त गर्दै उनले चाडपर्वमा समेत परिवारसँग भेटघाट गर्न नपाउने नागरिकको अवस्था बदल्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्रीले सुशासन, आर्थिक समृद्धि र नागरिकको सुखद जीवनयापनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले बडादसैँले नेपाली समाजमा एकता, सद्भाव र सकारात्मक सोचको विकास गरोस् भन्ने कामनासहित सबैलाई सभ्य र भव्य रूपमा पर्व मनाउन आग्रह गरेका छन्। अन्त्यमा उनले माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्दै सम्पूर्ण नेपालीमा बडादसैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।



