बारा- बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय किशोर गम्भीर घाइते भएका छन्। झडप र आगजनीपछि क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ।प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्पताल उद्घाटनको विषयमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको हो। घटनामा स्थानीय १७ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन्। उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।
अस्पतालमा आवश्यक सेवा–सुविधा, स्वास्थ्यकर्मी तथा स्रोतसाधनको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए। स्थानीयका अनुसार उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले लाठीचार्ज गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा प्रमुख अतिथि रहने गरी दिउँसो १ बजे अस्पताल उद्घाटन कार्यक्रम तय गरिएको थियो। तर विवाद चर्किएपछि सांसद बास्कोटा कलैयामै रोकिएकी थिइन्।



झडपका क्रममा करिब एक दर्जन सवारीसाधनमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपाल प्रेसलाई जानकारी दिएका छन्। घटनापछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको जनाएको छ। अस्पताल उद्घाटनको विषयबाट सुरु भएको विवादले गोली प्रहार र आगजनीको रूप लिएपछि फेटा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।



