धनगढी- वर्षौंदेखि योजना, घोषणा र प्रतीक्षामा सीमित रहेको कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ। सरकारले रंगशाला निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गरेसँगै सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार हुने आशा पलाएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरेको हो।

ठेक्काअन्तर्गत पहिलो चरणमा मैदानको जमिनमा माटो भर्ने, जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका काम गरिनेछ।पूर्वाधार विकासमन्त्री सुनील लम्सालले फाप्ला रंगशाला सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको आयोजना भएकाले सरकारले उच्च प्राथमिकताका साथ निर्माण प्रक्रिया अघि बढाएको बताएका छन्।धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारको बोराडाँडी क्षेत्रमा करिब साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ। रंगशाला निर्माणले खेलकुद पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

फाप्लालाई क्रिकेट रंगशालाका रूपमा विकास गर्ने अभियान लामो समयदेखि सञ्चालन हुँदै आएको छ। सन् २०१४ मा अस्थायी क्रिकेट मैदानका रूपमा पहिचान गरिएको फाप्लामा २०७२ सालदेखि ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो। आर्थिक वर्ष २०७२/७३ को संघीय बजेटमा समेत रंगशाला निर्माणको विषय समेटिए पनि जग्गा प्राप्ति हुन नसक्दा आयोजना अघि बढ्न सकेको थिएन।

२०७८ माघ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै विकास समिति गठन गर्ने निर्णय गरेको थियो। त्यसपछि २०७९ वैशाख २६ गते नेपाल राजपत्रमा विकास समिति गठन आदेश प्रकाशित भएको थियो। सोही वर्ष सरकारले आयोजनाका लागि जग्गा प्राप्ति गर्नुका साथै जेठ २३ गते अभियानका नेतृत्वकर्ता सुवास शाहीलाई विकास समितिको अध्यक्षमा मनोनीत गरेको थियो।

बहुवर्षीय ठेक्का आह्वान भएसँगै अब रंगशाला निर्माणले ठोस गति लिने अपेक्षा गरिएको छ। अभियानका नेतृत्वकर्ता शाहीले ठेक्का प्रक्रियालाई वर्षौंदेखिको सपना, संघर्ष र धैर्यको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।उनले यसलाई कुनै व्यक्ति वा समूहको मात्र नभई फाप्लालाई आफ्नो सपना बनाएका सम्पूर्ण नेपालीको साझा विजय भएको बताएका छन्। वर्षौंदेखि घोषणामै सीमित फाप्ला रंगशाला निर्माण प्रक्रिया अब ठेक्काको चरणमा प्रवेश गरेसँगै सुदूरपश्चिममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पूर्वाधार निर्माण हुने आशा बलियो बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय