भैरहवा – सडकको जाम र लामो यात्राबाट बच्न महँगो टिकट काटेर विमान चढेका यात्रुले विमानस्थलमै घण्टौँ कुर्नुपर्ने अवस्था आएपछि भैरहवा विमानस्थलको सेवा र व्यवस्थापनमाथि प्रश्न उठेको छ। कुवेत जाने अन्तर्राष्ट्रिय उडान भेटाउन काठमाडौं पुग्नुपर्ने भएपछि पाल्पाका महेन्द्र भुसालले दुई–तीन दिनअघि नै भैरहवा–काठमाडौंको हवाई टिकट काटेका थिए। भोलिपल्ट बिहान ७ बजे कुवेत जाने उडान भएकाले समयमै काठमाडौं पुग्न उनले दिउँसो २:२० बजेको उडान रोजेका थिए। पाल्पा, गुल्मी, प्युठानलगायत पहाडी जिल्लाबाट सडकमार्ग हुँदै काठमाडौं पुग्दा जाम र बाटोको ढिलाइले उडान छुट्न सक्ने जोखिम रहेकाले उनले हवाई यात्रा रोजेका थिए। तर, समय बचाउन विमान चढ्ने उनको योजना विमानस्थल पुगेपछि उल्टै झन्झटमा परेको छ।
भुसालका अनुसार उडान नछुटोस् भनेर उनी अघिल्लो दिन बिहान ४ बजे नै घरबाट हिँडेका थिए। दिउँसो करिब १ बजेतिर विमानस्थल पुगेका उनले बोर्डिङ पास पाएपछि मात्रै उडान तीन घण्टा ढिलो भएको जानकारी पाए। उडान ढिलाइबारे यात्रुलाई समयमै जानकारी दिन नसकिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। यात्रु विमानस्थल पुगिसकेपछि मात्र ढिलाइको सूचना दिनुभन्दा घरबाट निस्कनुअघि नै जानकारी गराउन सकिने व्यवस्था हुनुपर्ने उनको भनाइ छ। उडान ढिलाइसँगै सुरक्षा जाँचका क्रममा पनि अनावश्यक झन्झट बेहोर्नुपरेको उनले बताएका छन्। विदेश लैजान प्याक गरेर राखिएका कोसेली तथा सामान सुरक्षा जाँचका क्रममा खोल्न लगाइएको उनको गुनासो छ। स्क्यान मेसिन हुँदाहुँदै घिउको बट्टासमेत खोलेर देखाउन लगाइएको उनले बताएका छन्।



भुसालले सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीको व्यवहारप्रति पनि प्रश्न उठाएका छन्। उनका अनुसार ड्युटीमा रहेका एक सुरक्षाकर्मी कुर्सीमा खुट्टा तेर्स्याएर स्क्यान मेसिनमा टेक्दै मोबाइल चलाइरहेको अवस्थामा देखिएका थिए। विमानस्थलजस्तो संवेदनशील स्थानमा सुरक्षा जिम्मेवारीमा रहेका कर्मचारीको यस्तो व्यवहारले सुरक्षा अनुशासनमाथि प्रश्न उठाएको उनको भनाइ छ। विशेषगरी पहाडी जिल्लाबाट काठमाडौं पुग्न लामो समय लाग्ने भएकाले धेरै यात्रु सडकको जाम र ढिलाइबाट बच्न हवाई यात्रा रोज्ने गर्छन्। तर, महँगो टिकट काटेर विमान चढ्दा पनि उडान ढिलाइ र विमानस्थलभित्रको अव्यवस्थित सेवाका कारण यात्रुले सास्ती बेहोर्नुपरेको गुनासो छ।
वैदेशिक रोजगारीका लागि विदेश जान लागेका यात्रुका लागि समय निकै महत्वपूर्ण हुन्छ। अन्तर्राष्ट्रिय उडानको समय मिलाउनुपर्ने भएकाले आन्तरिक उडानमा हुने सामान्य ढिलाइले समेत यात्रुको सम्पूर्ण यात्रा प्रभावित हुन सक्छ। भुसालको अनुभवले विमानस्थलमा उडानसम्बन्धी सूचना प्रवाह, यात्रु व्यवस्थापन र सुरक्षा जाँचलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखाएको छ। यात्रुलाई समयमै उडानको जानकारी दिने, सुरक्षा जाँचलाई प्रभावकारी र मर्यादित बनाउने तथा कर्मचारीलाई जिम्मेवारीप्रति जवाफदेही बनाउने विषयमा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।
हवाई यात्रा रोज्नुको मुख्य उद्देश्य समय बचाउनु र सहज रूपमा गन्तव्यमा पुग्नु हो। तर, विमानस्थलमै घण्टौँ कुर्नुपर्ने र सामान्य सामान जाँचका क्रममा समेत अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था रहे यात्रुको हवाई यात्राप्रतिको विश्वास कमजोर हुन सक्छ। भुसालले उठाएको प्रश्न केवल एक यात्रुको गुनासो मात्र होइन, विमानस्थलको सेवा र यात्रुप्रतिको व्यवहार सुधार गर्नुपर्ने आवश्यकतासँग पनि जोडिएको छ।



