जनकपुरधाम- मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ। यसअघि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।



त्यसका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको थियो। तर निर्धारित समयभित्र कुनै पनि दलले सरकार गठनका लागि दाबी पेस गर्न सकेनन्। दाबी पेस नभएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया धारा १६८ को उपधारा (३) अनुसार अघि बढाइएको हो। संविधानको उक्त व्यवस्थाअनुसार प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
सरकार गठनमा दलहरूबीच सहमति जुटेन
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले धारा १६८(२) अनुसार सरकार गठनका लागि थप समय दिन प्रदेश प्रमुखसँग आग्रह गरेका थिए। उता जसपा नेपालले भने निर्धारित समयभित्र बहुमतको दाबी नपरेकाले धारा १६८(३) अनुसार आफ्नो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान राख्दै आएको थियो। दलहरूबीच सहमति जुट्न नसकेपछि प्रदेश प्रमुखले संवैधानिक व्यवस्थाअनुसार निर्णय लिएका हुन्।
यादव दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री
सरोजकुमार यादव यसअघि पनि मधेश प्रदेशको दोस्रो कार्यकालको सुरुवाती चरणमा मुख्यमन्त्री बनेका थिए। उनी बारा जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन्। नयाँ नियुक्तिसँगै मधेश प्रदेशको सरकारको नेतृत्व पुनः जसपा नेपालको हातमा पुगेको छ। अब नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ। त्यसपछि मन्त्रिपरिषद् विस्तार र प्रदेश सरकारको आगामी कार्यदिशा तय हुनेछ। मधेश प्रदेशमा पछिल्लो राजनीतिक घटनाक्रमले सरकार गठनको प्रक्रियालाई फेरि नयाँ चरणमा पुर्याएको छ।



