अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । आज प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डाक्टर महतले चौध गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् । मन्त्री महतले बजेटसँगै आउने आर्थिक विधेयकमार्फत सरकारले करका दर परिवर्तन, खारेजी र नयाँ प्रस्ताव गर्नेपनि स्पष्ट पारे ।
अर्थमन्त्री महतले इमान्दार भएर काम गर्दा झन् गाह्रो भएको र निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको गुनासो समेत गरे । उनले आर्थिक विधेयक टाइप गर्नका लागि मात्रै अवकाशप्राप्त नायव सुब्बा रामकृष्ण श्रेष्ठलाई राखिएको प्रष्टिकरण समेत दिए ।यसअघि प्रतिपक्ष नेकपा एमाले, रास्पपा, राप्रपा र नेमकिपाका साथै स्वतन्त्र सांसदहरुले करका दरमा हेरफेर भएको र अनावश्यक व्यक्ति बजेट लेख्दा प्रवेश गरेको विषयमा अर्थमन्त्री महतको जवाफ मागेका थिए ।



करका दर फेरफेरमा पूर्वनासु श्रेष्ठको सहभागिताबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न उनीहरुको माग थियो । सत्तारुढ कांग्रेस र स्वतन्त्र सांसदले पनि अवकास प्राप्त कर्मचारीको बजेट निर्माणमा सग्लनताबारे प्रश्न उठाएका छन ।बजेट निर्माणको चरणमा ११ सय भन्दा बढी विद्युतीय गाडीहरु भित्रिएको र त्यसबाट करिब ९३ करोड राज्यलाई नोक्सान भएको सांसदहरुको भनाइ थियो ।



