बर्षौदेखिको खानेपानी समस्याको धरानमा दीर्घकालीन समाधान हुन सकेको छैन । धरानमा सुख्खा मौसममा खानेपानीको समस्या चुलिदै जाने गरेको छ । अझ एक हप्ता भन्दा बढी लामो समयदेखि भएको खडेरीका कारण धरानमा खानेपानी समस्या झन झन चुलिदै गएको छ ।

धरानमा दैनिक ३ करोड खानेपानीको आवश्यकता पर्दछ । विगतमा नेपाल खानेपानी संस्थान शाखा धरानले धरानको खानेपानी वितरण गर्ने गथ्र्यो र अहिले धरान खानेपानी बोर्डले पानी वितरण गर्छ । तर संस्था बद्लिए पनि धराने जनताको खानेपानी समस्या कहिल्यै समाधान भएन ।

मंगबालर धरान ३ को पुरानो बजारमा बोर्डले ट्यांकरमा पानी लगेर वितरण गरेको दृश्यलाई पनि हेर्न सकिन्छ । लगातारको खडेरीले पानीका मुहान सुकेका कारण सर्वसाधारणको धारामा पानी नआएपछि त्यहाँ पुगेको ट्यांकरमा पानी थाप्न तछाडमछाड गर्दै सर्वसाधारण पुगेका थिए ।स्थानीय सञ्जय श्रेष्ठले धारामा खानेपानी नआएकै कारण मिनिरल वाटर, जारको पानी किनेर प्रयोग गनुपर्ने अवस्था आएको बताउनुभयो । खडेरी परेसँगै पानीको अति अभाव भएको उनको भनाई थियो ।

स्थानीय गृहणी जानुका विश्वकर्माले धारामा पानी नआएपछि पिउने पानीसँगै लुगा धुन र बाथरुम र ट्वाइलेट जानसम्म समस्या भएको बताउनुभयो । उहाले हप्तादश दिनदेखि धरानमा पानी नआएको बताउदै उधुम गर्मी समय समयमा लाइन जाने र पानी पनि नहुदा धेरै समस्या भएको बताए ।

धरानको दीर्घकालीन खानेपानी समस्या समाधानमा सर्वसाधारण आशै आशमा जीवन वित्न लागेको बताउने गरेका छन् । बर्षौदेखिको समस्या अहिले पनि उस्तै भएको बताउदै स्थानीय सुरज श्रेष्ठले बर्षौदेखि सुख्खा मौसममा ट्यांकरकै पानी थापेर चलाउनुपर्ने बाध्यता रहेको बताए । उनले कोकाहा खोला बराहक्षेत्रको कोकाहाबाट पानी ल्याउने मेयरको अभियान पनि धेरै समस्य लाग्ने देखिएकोले अहिले नै यो समस्या समाधान हुनेमा आशंका व्यक्त गरे ।

धरान खानेपानी बोर्डका ट्यांकर चालक.सुकविर राईले धरानमा खानेपानी समस्या भएकै कारण ट्याकंरमार्फत पानी वितरण गर्दै आएको बताए । उनले धरानका अन्य ट्यांकरले धरानका विभिन्न ठाउँ पुगेर सर्वसाधारणलाई खानेपानी वितरण गर्दै आएको बताए ।

धरानको खानेपानी समस्या समाधानमा स्वतन्त्र उमेद्वार हर्क साम्पाङ मेयर बनेपछि समाधानका लागि धेरै प्रयास नगरेको भने होइन । सेउती, सर्दु जलाधार क्षेत्रमा रहेका संरक्षण, पानी संकलनमात्र हैन अहिले बराहक्षेत्रमा पर्ने कोकाहाबाट पानी ल्याउने अभियानलाई समेत अगाडि बढाएकाछन् । धरानको दीर्घकालीन समस्या समाधान कोशीबाट पानी ल्याउँदामात्र सम्भव हुन्छ भन्ने बुझेर मेयर साम्पाङको टोली काठमाण्डौका विभिन्न मन्त्रालयमा समस्या लिएर पनि पुगे तर आर्थिक बर्ष ०८०-८१ को बजेमटमा धरानको दीर्घकालीन समस्या समाधानमा परेन ।

धराने सर्वसाधारणको बर्षौदेखिको खानेपानी समस्या समाधानमा राज्य सत्ताको ध्यान पुग्न सकेको देखिदैन । धरानको खानेपानी समस्या सांसदहरुलाई सत्ता उक्लिने सिढीको रुपमा विगतदेखि नै प्रयोग गर्दैै आएका छन् । तर समाधानतर्फ कसैले ध्यान दिन सकेको छैन । जसले गर्दा बर्षौदेखि धरानेहरु सुख्खा मौसममा धरानेहरुले काकाकुलको जीवन विताउन बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय