धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार तराईमा उद्युम गर्मी हुँदा गर्मी छल्ने नजिकको गन्तब्यको रुपमा लिइन्छ । तराईमा अत्याधिक गर्मी हुँदा यहाँ चिसो हुन्छ । छिनछिनमा मौसम परिवर्तनले भेडेटारको अस्तित्व जोगाएको छ । तर तराईमा ४२ डिग्री सेल्सियस तापक्रम माप गरिदा पनि भेडेटारमा विगतको जस्तो पर्यटक आउन सकेका छ्रैनन् ।
नेपालका तराईका जिल्लामात्र हैन भारतको पश्चिम बंगाल र विहारका पर्यटकहरु अत्याधिक गर्मी हुँदा गर्मी छल्न भेडेटार पुग्ने गर्छन । अत्याधिक गर्मी भएको बेला पनि भेडेटारमा विगतको तुलनामा ५० प्रतिशत पर्यटक पनि नआएको भेडेटार होटल एसोसिएसन धनकुटाले जनाएको छ । कोरोनाको असर, बैंकले ऋण प्रवाह नगर्नु, व्यवसायीमाथि बैंकले लगाएको चर्को व्याजदर, कारोबारमा गिरावटका कारण यसपटक होटल व्यवसायी चौपट भएको देखिएको छ ।



भेडेटारमा करिब साना तथा ठूला गरी १ सय ५० देखि २ सय वटा होटल सञ्चालनमा छन् । उनीहरुको व्यवसाय पर्यटकै भरमा चल्ने गरेको छ । तर पर्यटक नै नआएपछि व्यवसायीले समेत अपेक्षाकृत व्यवसाय गर्न सकेका छैनन । पर्यटकीय सिजनमा मात्र भेडेटारमा अरबौको कारोबार हुने गरेको छ । अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरीदेखि अत्याधिक व्यवसाय हुने भेडेटार अहिले सुनसान जस्तै छ । हुन त भेडेटार पर्यटकीय गन्तव्यको सम्भावना धेरै भएको स्थानको रुपमा लिइन्छ । यहाँ नमस्ते झरना, आत्मा बस्ने घर, चाल्स पोन्ट , ध्वजे डाँडा, राजारानी ताल लगायतका आकर्षक गन्तव्य स्थल रहेका छ । ती स्थानमा समेत सर्वसाधारणको आगमन कम भएको छ ।
पर्यटक तान्न अहिले एसियाकै सबैभन्दा ठूलो र राम्रो स्काई वाक निर्माण भइरहेको, पर्यटकलाई आकर्षित गर्न क्यानोनिम, र्याफ्टिङ, प्याराग्लाइडिङ, जीप फ्लाइन, विभिन्न आकर्षक पार्कहरु रहेका छन् । धनकुटामा रहेको म्यूजियमजस्तै भेडेटारमा भइदिए पर्यटक आउने वातावरण बन्ने अपेक्षा गरिएको छ ।



