काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा–२ नागढुंगामा शुक्रबारबाट स्थानीय उत्पादन विक्री केन्द्र संचालनमा आउँदै छ । चन्द्रागिरि नगरपालिकाले असार १ गतेदेखि स्थानीय उत्पादन विक्री केन्द्र संचालनमा आउन लागेको जानकारी गराएको हो ।
नगरपालिकाले सूचनामार्फत् प्रस्तावना आह्वान गरेपछि वडा नम्बर दुईस्थित बाघ बछला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालनको लागि प्रस्ताव पेश गरेसँगै नगरपालिका र सहकारीबीच जेष्ठ २९ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । नगरपालिका र सहकारीबीच समझदारी पत्रमा सम्झौता भएसँगै विक्री केन्द्र संचालनमा ल्याउन लागेको हो ।



स्थानीय उत्पादनलाई बजारीकरण गरी नगरबासीको आर्थिक र सामाजिक स्तरोन्नति गर्ने स्थानीय उत्पादन बिक्री केन्द्रको उद्देश्य रहेको नगरका वरिष्ठ शाखा अधिकृत नविन खालिङ बताउनु हुन्छ ।
यस्तै बिक्री केन्द्रको सुरुवात लगत्तै च.न.पा. ३ थानकोट र च.न.पा. १४ नयाँ नैकापमा पनि यसै आर्थिक वर्षमा बिक्री केन्द्र संचालनमा ल्याइने नगर प्रमुख घनश्याम गिरीले जानकारी गराउनु भयो । आउँदो आर्थिक वर्षमा नगरको अन्य मुख्य बजार तथा चोक हुँदै भविष्यमा उपत्यका र उपत्यका बाहिर पनि चन्द्रागिरि नगरपालिकाको स्थानीय उत्पादनलाई बजार व्यवस्थापन गर्न नगरपालिकाले विशेष पहल गर्ने नगर प्रमुख बताउनुहुन्छ ।
नगरपालिकाको यस किसिमको बिक्री केन्द्रमा नगरपालिकाले स्थान तथा पूर्वाधार व्यवस्थापन गर्ने छ भने संचालक समितिले बाँकी व्यवस्थापकीय कार्य गर्नेछ ।



