गत असार २ गते राति आएको बाढीले संखुवासभाको सभाखोला–लोहाकोट–विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा करिव तीन करोडको क्षति भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको लिफ्ट आयोजना बाढीले बगाउँमा स्थानीयलाई पिउने पानीको समेत समस्या भएको छ ।

संखुवासभाको चैनपुर नगरपालिकामा निर्माण भईरहेको लिफ्ट खानेपानी आयोजना बगाउँदा करिव तीन करोड रुपैयाँ बराबरको क्षति भएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरअन्तर्गतको सभाखोला–लोहाकोट–विजुवापानी सामुदायिक लिफ्ट आयोजना निर्माणको अन्तिम चरणमा पुग्दा बाढीले बगाएको हो । बाढीले बगाएको आयोजनाको निरीक्षण गर्दै कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएर आयोजना पुनःनिर्माणका लागि पहल थाल्ने जनाएको छ ।

खोलाभन्दा करिव ५० मिटर वर रहेको आयोजना स्थलमा बाढी पस्दा सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीन ओटा कन्ट्रोल प्यालन, स्टेपलाईजर, चेन पुल्ली, पालेघर लगाएत सम्पूर्ण सामग्रीमा क्षति पुगेको छ । आयोजना निर्माण स्थल अहिले बगरमा परिणत भएको छ भने सम्फवेल रहेको ठाउँबाट खोला बगिरहेको छ ।

३८६ घर परिवारलाई पानी खुवाउने लक्ष्यका साथ निर्माण भईरहेको आयोजनाबाट एक सय ५० घर परिवारले पानी खाँदै आएका थिए भने दुई सय घरपरिवारमा धारा जडान गरेर वितरणको अन्तिम चरणमा पुगेको थियो । निर्माण सकिन लागेको आयोजना बाढीले बगाएपछि स्थानीय पिउने पानीबाट बन्चित भएका छन् । आयोजना निर्माणको काम आर्थिक वर्ष २०७५÷७६ बाट थालिएको हो । कुल अनुमानित ११ करोड ११ लाख ८ हजार ९२७ रुपैयाँ लागतमा आयोजना निर्माण भईरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय