सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि बजेटमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि मन्त्रालय जागरुक भएर लागेको बताए ।
मन्त्री डाक्टर महतले कतिपय करदाता अदालत गएको र निर्णयमा अनियमिता भएका कारणले बेरुजु बढी देखिएको जिकिर समेत गरे । बजेट छर्ने प्रवृत्तिलाई रोक्न खोज्दाखोज्दै पनि तत्काल नसकिएको उनको प्रस्टोक्ति थियो । बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत उठाइएको रकम मुआब्जा वितरणका लागि खर्च भएको जानकारी पनि मन्त्री महतले दिए ।



मुलुकभित्र अत्यावश्यक कामका लागि आवश्यक रकम जोहो गर्न तथा अत्यावश्यक कामका लागि खर्च अभाव नहुने मन्त्री महतले बताए । बजेट कार्यान्वयमा देखिएका समस्या समाधानका लागि सरकारले पहल थालिसकेको उनको भनाइ थियो । अर्थमन्त्री डा .महतले नियम कानुनभन्दा बाहिर गएर कुनै पनि सरकारी स्रोत खर्च गर्न नसक्ने दाबी समेत गरे । आम्दानी नै कम भएकाले संघीय सरकारको बजेट बढी घटाएर प्रदेश सरकारको बजेट कम मात्रै घटाइएको उनको भनाइ थियो ।



