काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकताको विषयमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुने भएको छ । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासको निर्देशन अनुसार आजबाट बहस हुन लागेको हो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्नुभएको थियो । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरे पछि आज देखी कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।
सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि नेकपा एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । जसमा आजबाट दुवै पक्षले आ आफ्नो तर्फबाट बहस गर्नेछन् ।






