काठमाडौं । पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा भएको खेलमा भारत ए लाई १२८ रनले पराजीत गर्दै पाकिस्तानले उपाधिमा कब्जा जमाएको हो । ३५३ रनको विशाल लक्ष्य पछ्याएको भारत ४०औ ओभरमा अलाउट हुँदै २२४ रन मात्र समेटिन पुगेको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभर ८ विकेट गुमाउँदै ३५२ रनको योगफल बनायो । पाकिस्तानका लागि तैयव तहिरले शतकीय इनिङ्स खेले । ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १०८ रन बनाए । ओपनर साइम अयुबले ५९ रन बनाएर मैदानबाट बाहिरिए भने अर्का ओपनर सहिबज्याद फर्हानले ६५ रन जोडे । ओमैर युसुफ र मोहम्मद वासिम जुनिरले समान ३५ रन जोड्दा अन्य खेलाडी भने सस्तैमा समेटिए ।



भारतका लागि अविशेक शर्माले सर्वाधिक ६१ रनको योगदान गरे । कप्तान एस धुलले ३९ रन बनाए भने ओपनर साइ सुदर्शन २९ रनमा आउट भए । त्यस्तै रियान प्रयागले १४, हर्षित रानाले १२ तथा निशान्त सन्धु १० रनमा समेटिए ।
पाकिस्तानले सेमिफानलमा घरेलु टोली श्रीलंकालाई ६० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएको थियो भने भारतले बंगलादेशलाई ५१ रनले हराएर पाकिस्तानसँगको भेट पक्का गरेको थियो । भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानको यो लगातार दोस्रो उपाधि हो । सन् २०१९ मा बंगलादेशलाई हराउँदै उपाधि हात पारेको थियो ।



